
इटहरी- भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा शनिबार राति चारजनाको हत्या भएको छ। हत्या गरिएकामा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, १५ वर्षीया मनीषा गिरी र ९ वर्षीय सपन गिरी छन्। चारैजनाको हत्या भोजपुर नगरपालिका-२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले गरेको प्रहरीले जनाएको छ।
राजेन्द्रले प्रहरीसँगको बयानमा आफूले पत्नी, सासूससुरा र सालाको चारैजनाको हत्या गरेको बताएका छन्। बेलबहादुर र मञ्जु पतिपत्नी हुन् भने मनीषा र सपन उनीहरूका छोराछोरी हुन्।
चारजनाको ज्यान लिएपछि राजेन्द्रले आफ्नै पेटमा समेत धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, ‘विवादका क्रममा सासू मञ्जुले आफूलाई छुरा प्रहार गरेको दाबी गर्दै राजेन्द्रले आक्रोशमा आएर सबैको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।’ गम्भीर घाइते रहेका राईको जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरिएको छ।
यसरी भयो घटना
बेलबहादुरकी छोरी मनीषा सात महिनाअघि कपडा किन्न भनेर भोजपुर सदरमुकाम गएकी थिइन्। धोद्लेखानीबाट भुल्के, दलगाउँ हुँदै पिखुवा खोला तरेर भोजपुर सदरमुकाम पुग्न सकिन्छ। यातायातको सहजताका कारण भोजपुर पुग्न केही घण्टाको दूरी छिचोल्दा मात्रै पुग्छ। कपडा किन्न गएकी छोरी हप्तौँसम्म फर्किइनन्। परिवारले केही समयपछि हेलौँछाका राजेन्द्रले उनलाई ललाईफकाई भगाएर लगेको थाहा पाए।
राजेन्द्रले विभिन्न प्रलोभनमा पारेर मनीषासँग विवाह गरे। राजेन्द्रले विवाह गरे पनि गिरी परिवार सन्तुष्ट थिएन। एक त मनीषाको विवाह गर्ने उमेर भएको थिएन भने दुईबीच उमेरमा असमानता थियो।
१५ वर्ष जेठो केटासँग बालविवाह गरेका कारण मनीषासँग उनका अभिभावक सन्तुष्ट थिएनन्। यद्यपि परिवारमा आउजाउ भने थियो। परिवारलाई राईले बेलाबेला धम्की दिने गरेको स्थानीय दिलबहादुर गिरीले बताए। उनका अनुसार मनीषा १८ दिनअघि माइत आएकी थिइन्। माइत आएर घर नफर्किएपछि १० दिनअघि राजेन्द्र लिन आएका थिए।
‘१० दिनअघि राजेन्द्र आएर कहिले धाकधम्की दिने, कहिले हप्काउने गर्दा रहेछन्,’ घटनास्थलमै रहेका गिरीले हिमालप्रेससँग फोन सम्पर्कमा भने, ‘परिवारमा धाकधम्की दिएपछि कहिले ओख्रे गएर बस्ने, कहिले कता जाने र फेरि आउने गर्दा रहेछन् उनी।’
धोद्लेखानीबाट ओख्रे नजिकै पर्छ। ओख्रेकै बाटो हुँदै भोजपुर सदरमुकाम पुग्न सकिन्छ। राई घरीघरी ओख्रे जाने र मनीषालाई लिन आउने गरेको गिरीले बताए।
गिरीले राजेन्द्रले मनीषालाई ललाईफकाई विवाह गरेको गाउँलेलाई थाहै नभएको दाबी गरे। ‘कहिले विवाह गरे, कसले ललाईफलाई लग्यो हामीलाई थाहै थिएन। पढ्ने क्रममै भएकाले गाउँलेले वास्ता पनि गरेको थिएन,’ उनले भने, ‘यसअघि पनि आउजाउ त भइरहन्थ्यो। विवाह गरेको सात महिनामात्रै भएको रहेछ।’
बेलबहादुरका चार छोरी र दुई छोरा थिए। जेठी, माइली, साइँली छोरी र जेठो छोरा काठमाडौँमा छन्। कान्छो छोरा सपन र कान्छी छोरी मनीषाको क्रूर अपराधबाट ज्यान गएको छ।
जसले मारे, उसैले प्रहरीलाई जानकारी गराए
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार राति १ः१५ बजेतिर प्रहरीलाई फोन आयो। ‘मैलै मान्छे मारेको छु, समाउन आउनू’ भनेर राजेन्द्रले प्रहरीलाई फोन गरेको श्रेष्ठले जानकारी दिए।
‘जसले घटना गराए, उनले नै फोन गरेर प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थलमा खटियो,’ श्रेष्ठले भने, ‘धारिलो हतियार के प्रयोग भयो भन्ने हामीले फेला पार्न सकिरहेका छैनौँ, खोजिरहेका छौँ।’
चारैजनाको हत्या गरेपछि राजेन्द्रले आफ्नो पेटमा समेत धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते रहेका उनलाई जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए।
‘यहाँबाट रेफर गरेर धरान पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘घटनास्थलबाट शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै छौँ।’
श्रेष्ठका अनुसार प्रहरीकै निगरानीमा राजेन्द्रको उपचारका लागि धरान ल्याइने तयारी छ। उनले के कारण हत्या गरे भन्नेबारे विभिन्न कोणबाट सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
शान्त गाउँ एकाएक बग्यो रगतको खोलो
शान्त गाउँ हो – धोद्लेखानी। मगर, गिरी, भुजेल, तामाङ, राईसहितका समुदायको बसोबास छ। यहाँका मानिसको जीवीकोपार्जनको मुख्य स्रोत खेतीपाती हो। पछिल्लो समय बसाइँ सराइले उजाड बन्दै गए पनि जति परिवार छन्, त्यति शान्तले बाँचेका छन्।
बालबालिका स्थानीय छिन्ताङदेवी आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढेपछि थप अध्ययन गर्न कटुञ्जे माविसम्म पुग्छन्। कटुञ्जे खोला तरेर कटुञ्जे माध्यमिक विद्यालयमा पढ्न जाने विद्यार्थी पनि घट्दै गएका छन्।
कटुञ्जे माविका प्रधानाध्यापक आनन्द भुजेलका अनुसार विद्यार्थी घट्दै जाँदा त्यस क्षेत्रका विद्यार्थी अध्ययनका लागि आउँदैनन्। पछिल्लो समय त्यस क्षेत्रका बालबालिका अध्यापनका लागि भुल्केसम्म पुग्ने गरेको भुजेलले बताए। त्यस ठाउँका बालबालिका विद्यालयमा आउँदैनन्। ‘जहाँ राति घटना भयो, त्यहाँको बस्ती एकदमै शान्त ठाउँ थियो,’ उनले भने, ‘अचानक रगतको खोलो बगेपछि गाउँ शोकमा डुबेको छ।’
धोद्लेखानी गाउँको बीच भागमा पर्छ। माथिल्लो भागमा भुजेल, बीचमा राई, तामाङ, गिरी र तल्लो भेगमा मगर बस्ती छ। मिश्रित बसोबास रहेको गाउँमा शनिबारको घटनापछि स्थानीय बासिन्दा आत्तिएका छन्। माओवादी जनयुद्धको समयमा यो ठाउँमा अशान्त बनेको थियो। त्यसपछि शान्त तरिकाले बाँचिरहेको गाउँमा एक व्यक्तिले हतियार चलाउँदा अहिलेको अवस्था बनेको हो।
बेलबहादुरले जन्मनेबित्तिकै भोगेका थिए मातृ वियोग
बेलबहादुर गिरी ६ दशकअघि खोटाङको मात्तिममा जन्मिएका हुन्। उनी जन्मिएपछि परिवारमा खुसी हुनुपर्ने थियो। बेलबहादुर जन्मिनेबित्तिकै उनकी आमाको निधन भयो। मातृवियोगमा परेका उनलाई मावली हजुरआमाले हुर्काइन्।
उनी भोजपुरको साबिक धोद्लेखानी गाविस-७ मा हुर्किएका थिए। उनकी हजुरआमा गाउँघरमा ‘पुरीनी बजै’ले परिचित थिइन्। गिरी मावल पुरी परिवारमै हुर्किएर त्यहीँ जीवन बाँचे। बुढेसकालमा लम्किएका बेलबहादुरसँगै श्रीमती, छोरी र छोराको क्रूर अपराधबाट ज्यान गएको छ।