बिक्री भएन दाङको कागती

हिमाल प्रेस १३ साउन २०८२ १२:१७ | Tuesday, July 29, 2025
बिक्री भएन दाङको कागती

दाङ- कागती बिक्री नहुँदा किसान चिन्तित छन्। सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका-८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए। उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन्।

भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ। उनले भने,‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन।’ पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ। उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ। ८० का दरले पठाएको उनी बताउँछन्।

आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ।’

उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन्। किसान अधिकारीले यसबाट वार्षिक रूपमा दुई लाख ५० हजार बढी आम्दानी गर्दै आएका छन्। उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएका छन्।

सुरुमा उनका तीन दाजुभाइ मिलेर कागतीखेती गरेका थिए। दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन् भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन्। यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ।

प्रकाशित: १३ साउन २०८२ १२:१७ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast