
काठमाडौँ- सरकार रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा सदस्यका साथै आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचन गर्ने तयारी जुटेको छ।
उपनिर्वाचन तथा राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरूले कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्र रिक्त रहेको छ।
त्यस्तै गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका दीपक गुरुङको पद खारेज भएपछि यो क्षेत्रमा पनि उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ।
यी दुवै निर्वाचन क्षेत्रमा कात्तिक दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परमार्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।
यसका साथै आगामी फागुन २० गते कार्यकाल सकिएर बिदा हुने १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचनबारे आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्।
आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रियसभा सदस्य बिदा हुँदैछन्। जसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम कार्यकाल पूरा गरेर फागुन २० गते राष्ट्रियसभाबाट बिदा हुँदैछन्। उनको ठाउँमा पुनः राष्ट्रपतिबाट मानोनीत भएर अर्का सदस्य आउनेछन्।
रिक्त हुने बाँकी १८ पदका लागि भने निर्वाचन हुनेछ। फागुन २० गते बिदा हुनेमा सबैभन्दा बढी नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू छन्।
६ वर्षे कार्यकाल पूरा गरेर आगामी फागुनमा एमालेका ८, माओवादी केन्द्रका ७, नेकपा (एकीकृत समाजवादी) का १, जनता समाजवादी पार्टी (जसपा) नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सदस्य कार्यकाल सकेर बिदा हुँदैछन्।
आगामी फागुनमा राष्ट्रियसभाबाट बिदा हुनेमा नेकपा एमालेका इन्दिरा गौतम (महिला समूह), गोपाल भट्टराई (अन्य समूह), तुलसाकुमारी दाहाल (महिला समूह) देवेन्द्र दाहाल (अन्य समूह), भगवती न्यौपाने (महिला समूह), विमला घिमिरे (महिला समूह), शारदा देवी भट्ट (महिला समूह) र सुमित्रा बिसी (महिला समूह) रहेका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की (दलित समूह), गंगाकुमारी बेलबासे (महिला समूह), जगप्रसाद शर्मा (अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूह), तारामान स्वाँर (अन्य समूह), नारायणकाजी श्रेष्ठ (अन्य समूह), मायाप्रसाद शर्मा (अन्य समूह) र राधेश्याम पासवान (दलित समूह) राष्ट्रियसभाबाट फागुनमा बिदा हुँदैछन्।
नेकपा (एकीकृत समाजवादी) का डा.बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा नेपाल) का मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शेखरकुमार सिंह राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन्।