
काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ।
भारतीय सञ्चारमाध्यम दि हिन्दुका अनुसार विमानमा २४२ सवार थिए। एयर इन्डियाले जारी गरेको विज्ञप्तिअनुसार फ्लयाट एआई १७१ को उक्त विमान अहमदाबादबाट लण्डनको ग्याटविक विमानस्थलतर्फ उडिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनास्थलमा दमकलहरू पुगिसकेका छन्। अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले विमानस्थल क्षेत्रबाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको जानकारी दिए। सार्वजनिक केही तस्बिरमा विमानमा लागेको आगो र धुवाँको मुस्लो देखिएको छ।
लामो दुरीको अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा इन्धन भरेको विमान दुर्घटनापछि ठूलो विस्फोट र आगलागीको कारण बनेको समाचारमा उल्लेख छ। अधिकारीहरूले दुर्घटनाको सम्भावित कारणबारे केही बताएका छैनन्। विशेषज्ञहरूले अत्यधिक इन्धनको मात्रा दुर्घटनापछि आगलागी झन् जटिल बनाएको र यसले उद्धार कार्यमा कठिनाइ भएको बताएका छन्।
संघीय गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, राज्य गृहमन्त्री हर्ष संघवी र अहमदाबादका प्रहरी आयुक्तसँग कुराकानी गरिसकेको जानकारी दिइएको छ। शाहले संघीय सरकारले घटनापछिको व्यवस्थापन र अनुसन्धानमा राज्यलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। विमान बस्तीमा खसेकाले धेरै क्षति भएको अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।