एकैपल्टमा करिब ५ सय नयाँ जहाज किन्दै एयर इन्डिया

हिमाल प्रेस २८ माघ २०७९ १८:४०
22
SHARES
एकैपल्टमा करिब ५ सय नयाँ जहाज किन्दै एयर इन्डिया

काठमाडौँऔ भारतको वायुसेवा कम्पनी एयर इन्डियाले एकैपटकमा झन्डै पाँच समय जहाज खरिद गर्ने भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार एयर इन्डियाले फ्रान्सेली हवाइजहाज उत्पादक एयरबस र उसको अमेरिकी प्रतिद्वन्द्वी बोइङसँग करिब एक खर्ब अमेरिकी डलर खर्च गरेर ती जहाज खरिद गर्न लागेको हो।

एयर इन्डियाले जहाज खरिदका विषयमा आधिकारिक रुपमा केही बताएको छैन। तर रोयटर्सका अनुसार आउँदो साताभित्र तीनै पक्षले सम्झौता सार्वजनिक गर्नेछन्।

एयर इन्डियाले एयरबसबाट २ सय ५० जहाज खरिद गर्नेछ। जसमध्ये २ सय १० वटा ए–३२० नियो (न्यारोबडी) र ४० ए–३५० (वाइडबडी) रहनेछन्। उता बोइङबाट भने एयर इन्डियाले २ सय २० जहाज प्राप्त गर्नेछ। जसमा १ सय ९० जहाज ७३७ म्याक्स (न्यारोबडी) र २० ७८७ एक्सएस (वाइडबडी) छन्।

रोयटर्सका अनुसार एयर इन्डियाले एयरबससँग शुक्रबार सम्झौता गरेको हो। बोइङसँग भने जनवरी २७ मै सम्झौता भइसकेको छ। जनवरी २७ एयर इन्डियाका लागि विशेष दिन हो। किनभने टाटा समूहले एक वर्षअघि ठ्याक्कै त्यही दिन एयर इन्डियालाई आफ्नो स्वामित्वमा ल्याएको थियो।

एयर इन्डिया नयाँ जहाजले पुरानालाई प्रतिस्थापन गर्ने र भारतीय समुदायको बाक्लो बसोबास भएका विदेशी सहर र नयाँ दिल्ली तथा मुम्बईबीच उडान संख्या बढाउने योजनामा छ। खाडीका विभिन्न सहरमा लाखौँ भारतीय रहेकाले त्यतापनि आक्रामक रुपमा बजार विस्तारमा एयर इन्डिया लागेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

ती रुटमा ठूलो संख्यामा नयाँ जहाज रहेको इमिरेट्स जस्ता कम्पनीले दबदबा कायम गरेकाले प्रतिस्पर्धाका लागि आफूले पनि नयाँ जहाज नै खरिद गर्ने निचोडमा एयर इन्डिया पुगेको हो।

भारतभित्रकै बजारलाई लिएर पनि एयर इन्डिया आक्रामक बन्दै गइरहेको छ। एकैपटक ४ सय नयाँ न्यारोबडी जहाज खरिद गरेर एयर इन्डिया इन्डिगोसँग कडा प्रतिस्पर्धामा उत्रन चाहन्छ।

प्रकाशित: २८ माघ २०७९ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =