
काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गते सुरु हुने राजतन्त्र समर्थकहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। उनीहरू आन्दोलन शान्तिपूर्ण हुने भएकाले सहभागी हुन पनि सबैलाई अपिल गरेका छन्।
अध्यक्षद्वयले काठमाडौँमा मंगलबार आयोजित आन्दोलन तयारी सभामा सम्बोधन गर्दै आन्दोलन हिंसात्मक नहुने बताएका हुन्।
लिङदेनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन्। सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने भनाइ उनको छ। अध्यक्ष लिङ्देनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने बताए।
उनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने दाबी गरे। यसपटकको आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्ने पनि उनले बताए।
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधनका क्रममा हामी त बूढो भयौँ, तपाईँ चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घरघरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए। अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरुले खाने पनि उनले स्पष्ट पारे। अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन थापाले आग्रह गरेका छन्।
अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरुलाई पराजित गर्ने र आफ्ना एजेन्डा स्थापित गराएरै छाड्ने बताए।