पोखरामा वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी

हिमाल प्रेस २३ वैशाख २०८२ २२:१५
18
SHARES
पोखरामा वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी

पोखरा– व्यवसायीमाथि हातपात गरेको आरोपमा पोखराका एकजना वडाध्यक्षलाई कारबाहीको माग गर्दै व्यवसायीहरुले उजुरी दिएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी भने दर्ता हुन बाँकी छ।

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले चिप्लेढुंगास्थित सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका लेखनाथ सुवेदीमाथि मंगलबार दिउँसो हातपात गरेको आरोप छ।

वडाध्यक्ष पराजुलीले यो घटनाअघि मंगलबार नै पोखरा महानगरको प्रशासन शाखामा कार्यरत सातौँ तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए।

कर्मचारीलाई आन्तरिकरुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपिट गरेको एक कर्मचारीले बताए।

प्रमुख प्रशासकीय अधिकृतले बोलाएर उनको कार्यकक्षमा पुगेका अधिकृत पोखरेललाई वडाध्यक्ष पराजुलीले कठालो समातेर कुटपिट र लछारपछार गरेको ती कर्मचारीले बताए। सो घटनापछि पन्थी गल्ली पुगेका वडाध्यक्ष पराजुली फुटपाथमा सामान राखेको भन्ने विवादमा व्यवसायी सुवेदीमाथि जाइलागेका हुन्। वडाध्यक्षले सुवेदीको गालामा चड्कन हानेका हुन्।

सर्वेश्वर मार्ग व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापाले ठूलो लगानी गरेर आफूहरुले व्यवसाय सञ्चालन गर्दै आएकोमा पसलको अगाडि सामानको डिस्प्ले राख्नुपर्ने मागमा महानगर कार्यालय र वडाध्यक्षले विगतदेखि अवरोध गर्दै आएको बताउँछन्।

उनले भने, ‘एउटा सानो घटनाले आज हाम्रा व्यवसायी सदस्य कुटिएका छन्। कडा कारबाहीको माग गर्दै उजुरी दिइसकेका छौँ।’

उनले घरभेटीहरुले पनि वडाध्यक्षले झैँ ‘यिनीहरु बाहिरबाट आएका हुन्’ भनी असहयोग गरेको गुनासो गरे। वडाध्यक्ष निर्वाचित भएदेखि नै वडाध्यक्ष पराजुलीको आफ्नै वडाअन्तर्गत पर्ने सर्वेश्वर मार्गका व्यवसायीहरुसँग सम्बन्ध सुमधुर छैन।

चिप्लेढुंगाको क्याफे एरोमानजिक कास्कीकोट स्थायी घर भएका सुवेदीले कस्मेटिक पसल सञ्चालन गर्दै आएका छन्। समितिअन्तर्गत २०८ जना व्यवसायी आबद्ध छन्। उनीहरुले फेन्सी, कस्मेटिक, जुत्तालगायतका पसल सञ्चालन गरेका छन्। पीडित लेखनाथ सुवेदी निवेदक रहेर वडाध्यक्षलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा दिउँसो ५ बजे उजुरी दिइएको सर्वेश्वर मार्ग व्यवसायी समिति अध्यक्ष थापाले बताए।

यसैबीच, कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पनि उजुरी परेको पुष्टि गरे। उनले भने, ‘उहाँहरुको उजुरी परेको छ। तर दर्ता हुन बाँकी छ।’

वडाध्यक्ष पराजुलीले भने आफूमाथि आईलागेपछि प्रतिकारमात्र गरेको दाबी गरेका छन्।

प्रकाशित: २३ वैशाख २०८२ २२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast