मलेसियामा नेपाली सुरक्षा गार्डको तलबबारे अनुगमन

रमेश भारती २१ वैशाख २०८२ १९:४२
282
SHARES
मलेसियामा नेपाली सुरक्षा गार्डको तलबबारे अनुगमन

काठमाडौँ- मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले न्यूनतम तलब नपाएको गुनासो बढेपछि मलेसिया सरकारले निरीक्षण तथा अनुगमन सुरु गरेको छ। मलेसियाको श्रम विभागअन्तर्गतको टोलीले शुक्रबारदेखि नेपाली सुरक्षा गार्ड कार्यरत ३५ वटा सुरक्षा कम्पनीको निरीक्षण गर्न थालेको हो।

मलेसियाले एक वर्षअघि स्वदेशी तथा विदेशी सुरक्षा गार्डका लागि न्यूनतम तलब एक हजार ५०० रिंगेटबाट बढाएर एक हजार ७०० रिंगेट कायम गरेको थियो। त्यसको कार्यान्वयनमा केही कम्पनीले ढिलाइ गरेको भन्दै नेपाली कामदारले मलेसियास्थित नेपाली दूतावासमा उजुरी दिँदै आएका छन्।

नेपाली सुरक्षा गार्डहरूका अनुसार कतिपय रोजगारदाता कम्पनीले अझै पनि पुरानै दर अर्थात् एक हजार ५०० रिंगेटमा काम गराइरहेका छन्। त्यस्ता कामदारलाई १२ घण्टा काम लगाएर दुई हजार रिंगेट तलब दिएको पाइएको मलेसियाली सञ्चारमाध्यम द स्टारले जनाएको छ।

निरीक्षणका क्रममा मलेसियाली श्रम विभागका कर्मचारीले कम्तीमा चार महिनाको तलब विवरण हेरेका गरेका थिए। केही कम्पनीले भने लिखित रूपमा एक हजार ७०० रिंगेट तलब दिने सम्झौता गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको पाइयो।

मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले अबदेखि न्यूनतम एक हजार ७०० रिंगेटको तलबी भर्पाई र बैंक ट्रान्सफरको प्रमाण नभएसम्म नेपाली कामदारका लागि मागपत्र प्रमाणीकरण नहुने बताए। ‘तलब, सामाजिक सुरक्षा कोष, र सेवा सुविधा सुनिश्चित नगरेसम्म वैदेशिक रोजगारका लागि नयाँ मागपत्र प्रमाणीकरण स्वीकृत गरिने छैन’, राजदूत तिम्सिनाले भने

मलेसियाको ‘राष्ट्रिय तलब परामर्श परिषद् ऐन, २०११’ अनुसार तलब नदिने रोजगारदातालाई जरिबाना गर्न सकिने व्यवस्था छ। सोही ऐनको प्रयोग गर्दै हालसम्म तीन सयभन्दा बढी नेपाली सुरक्षा गार्डले क्षतिपूर्ति पाएका छन्। २०२५ मार्चसम्म मात्र ४५६ उजुरी परेका थिए, जसमा ७० प्रतिशत नेपाली कामदारको संलग्नता थियो।

मलेसियामा सुरक्षा गार्डको रोजगारीमा विदेशीमध्ये नेपाली कामदारलाई मात्र अनुमति दिइएको छ। मलेसियाली नागरिकबाहेकका गार्डमा नेपालीको प्रमुख उपस्थिति रहँदै आएको छ।

प्रकाशित: २१ वैशाख २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast