
पाेखरा- काठका विकल्पका रूपमा अन्य वन पैदावारको उपयोग गर्दै पोखराको ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। वनमा थुप्रिएका ज्वलनशील पदार्थलाई व्यवस्थापन गर्दै उत्पादन सुरु गरिएको यस अभियानले वातावरण संरक्षणसँगै स्थानीयलाई रोजगारी र आम्दानी दिने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिका–१८ सराङकोटस्थित वन समूहले घाँस, पातपतिंगर र झाडीहरू संकलन गरी मल उत्पादन गर्ने उद्यम सञ्चालनमा ल्याएको हो। सामुदायिक वनका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार यसले रासायनिक मलको विकल्प प्रदान गर्नुका साथै डढेलो न्यूनीकरणमा समेत भूमिका खेल्नेछ। ‘हालसम्म दुई स्थानबाट ५० हजार किलो कच्चा पदार्थ संकलन भइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस अभियानमा दैनिक २० जना श्रमिक संलग्न छन्।’
संकलन गरिएको हरियो पात–पतिंगर प्रतिकिलो ३, सुक्खा पात ५ मा खरिद गरी प्रतिकिलो २५ मा जैविक मल बिक्री गरिने जनाइएको छ। उत्पादन प्रक्रिया सुरु गर्न समूहले हालसम्म २ लाखभन्दा बढी लगानी गरिसकेको छ।
वन क्षेत्रबाट संकलन गरिएका सामग्रीहरूलाई आधुनिक मेसिनद्वारा काटेर सानो आकारमा परिणत गरिन्छ। त्यसपछि ९० दिनसम्म कम्पोस्टिङ प्रक्रियाबाट मल उत्पादन गरिन्छ। अभियानको थालनी अँधेरीकुनाबाट गरिएको हो भने हाल देउरालीसम्म विस्तार भइसकेको छ।
डिभिजन वन कार्यालय, कास्कीबाट पनि १० हजारको प्राविधिक तथा आंशिक आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए। समूहकी सदस्य विष्णु कुमालले भनिन्, ‘दिनभर काम गर्नेले दैनिक १,५०० सम्म आम्दानी गर्न सक्छन् भने गृहिणीहरू फुर्सदको समयमा आएर ५०० सम्म कमाइरहेका छन्।’ जैविक मल उत्पादनलाई थप व्यवस्थित बनाउँदै गँड्यौला मल उत्पादन योजना पनि अघि बढाइँदैछ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले ठोट्नेखोला वन समूहको प्रयास प्रशंसनीय भएको भन्दै अन्य वन समूहले पनि यस्तै अभ्यासलाई आत्मसात गर्नुपर्नेमा जोड दिए। ‘यसले वन डढेलो नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण र माटोको उर्वरशक्ति वृद्धिमा मद्दत पुर्याउँछ,’ उनले भने।
जैविक मल उत्पादनको उदाहरणीय मोडेलका रूपमा गण्डकी प्रदेशकै नवलपुरस्थित विनयी सामुदायिक वन समूह पनि छ जहाँ हाल ८० जना प्रत्यक्षरूपमा रोजगारीमा संलग्न छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले यस्ता परियोजनामा अन्तर्राष्ट्रिय दाताहरूको सहयोग जोडिनुपर्ने धारणा राखेको छ।