
काठमाडौँ- नेपाल सरकार र भारत सरकारबीच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मंगलबार मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक, जय पृथ्वी नगरपालिका बझाङ, भरतपुर महानगरपालिका, चितवनलगायतका स्थानीय तहमा सहयोग उपलव्ध गराउने विषयमा सम्झौता भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी जानकारी दिए।
यसअघि चालू आर्थिक वर्षमा १३ वटा परियोजनामा सम्झौता भइसकेको उनले बताए। सम्बन्धित पालिकाबाट आयोजना माग गरेर अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा प्रस्ताव पठाएपछि दूतावासले स्वीकृत गर्ने प्रक्रिया रहेको छ। सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहनेछ।