लहानमा सलहेश फूलबारी मेलाको रौनक

हिमाल प्रेस ३१ चैत २०८१ १९:२७ | Sunday, April 13, 2025
लहानमा सलहेश फूलबारी मेलाको रौनक

सिरहा– नयाँ वर्षका दिनमात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ। यो फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ।

वैशाख १ गते लाग्ने मेलाको पूर्वसन्ध्यामा आइतबार अपराह्नदेखि नै फूलबारीमा श्रद्धालुहरुको चहलपहल बढेको छ। मेला समितिका अध्यक्ष जयकान्त चौधरीका अनुसार भोलि वैशाख १ गते लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

उनले भने, ‘मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाउने, व्यापारिक ‘स्टल’ हरु बनाउने सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ। मेलालाई व्यवस्थित गर्न सय जना स्वयंसेवक खटाइएको छ भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ।’

मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन्। दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन्।

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ। सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ।

यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ। त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन्।

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश हुने जनविश्वास छ।

सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ। स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला संघ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्नेमा सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले जोड दिए।

प्रकाशित: ३१ चैत २०८१ १९:२७ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast