तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री

हिमाल प्रेस ५ वैशाख २०८२ १६:५४ | Friday, April 18, 2025
तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने बताएका हुन्।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे। उनले सामाजिक सञ्जालसम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको बताए।

त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौँमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधानविरोधी आन्दोलन भएको बताए। शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधानविपरितको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उनले त्यसमा संलग्न सबैलाई कारवाही हुने उल्लेख गरे। उनले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको जिकिर गरे।

उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाइ रोक्न लागिपरेको बताए।

कार्यक्रममा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरिएको थियो। त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई प्रदान गरिएको छ भने स्व. उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ।

प्रकाशित: ५ वैशाख २०८२ १६:५४ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast