डा. नीलम ढुंगाना बन्लिन् त पहिलो महिला गभर्नर?

हिमाल प्रेस १० चैत २०८१ १४:५५
40
SHARES
डा. नीलम ढुंगाना बन्लिन् त पहिलो महिला गभर्नर?

काठमाडौँ- सरकारले नयाँ गभर्नर छनोट प्रक्रिया अगाडि बढाएको छ। नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेपछि गभर्नर महाप्रसाद अधिकारी चैत ५ गतेबाट ‘फोर्स लिभ’मा बसेका छन्।  २०७६ चैत २४ मा नियुक्ति पाएर पाँचबर्से कार्यकाल सकिन लागेका अधिकारी १० दिन अनिवार्य बिदामा बसेका हुन्।

गभर्नर अधिकारी बिदामा बसेपछि कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर डा. नीलम ढुंगानाले पाएकी छन्। राष्ट्र बैंकको अठारौँ गभर्नर बन्न एक दर्जनभन्दा बढी आकांक्षी राजनीतिक लबिङमा छन्। तिनैमध्ये डेपुटी गभर्नर डा. ढुंगाना पनि गभर्नर बन्ने दौडमा छिन्। उनी नेपालको पहिलो महिला गभर्नर बन्नका लागि प्रयासरत रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री केपी ओलीले समेत ढुंगानालाई पहिलो महिला गभर्नर बनाउन चाहेको राष्ट्र बैंकका एकजना उच्च अधिकारीले जानकारी दिए।

ओलीले पछिल्ला दिनमा महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव आफ्नै पालामा बनाउन सफल भएको सार्वजनिक मञ्चमा दाबीसमेत गर्दै आएका छन्। यसका कारण पनि ढुंगानाको सम्भावना राम्रै भएको राष्ट्र बैंकका कर्मचारीहरूभित्र चर्चा छ। ढुंगानाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत नयाँ गभर्नर बन्न लबिङ गरिरहेको राष्ट्र बैंकका उच्च कर्मचारीहरू बताउँछन्।

अर्थमन्त्री विष्णु पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिन्छन्। डा. ढुंगानालाई गभर्नर बनाउन आन्तरिक छलफल गरिरहेको र यसमा पूर्वराष्ट्रपति भण्डारीको सहयोग हुने राष्ट्र बैंकका एक कर्मचारीले बताए। ‘गभर्नरको दौडमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना पनि हुनुहुन्छ। उहाँले आफ्नो तर्फबाट लबिइङ गर्नुभएको बुझिएको छ’, ती कर्मचारीले भने। डेपुटी गभर्नर डा. नीलम ढुंगाना पनि अवसर लिन र इतिहास रच्न लागिपरेको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ। यसैगरी बमबहादुर  मिश्र पनि गभर्नर बन्न ठूलै राजनीतिक कसरतमा छन्।

राष्ट्र बैंक स्रोतका अनुसार अर्थशास्त्रीद्वय डा. गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठ पनि गभर्नरका बलिया आकांक्षी हुन्। उनीहरूसँगै राष्ट्र बैंकका सञ्चालकद्वय रवीन्द्र पाण्डे र चिन्तामणि सिवाकोटी पनि गभर्नरको दौडमा छन्। पूर्वअर्थसचिव रामेश्वर खनाल र लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पनि गभर्नरको चर्चामा छन्।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि गभर्नरका लागि राजनीतिक लबिङमा छन्।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नयाँ गभर्नर छनोट प्रक्रिया सुरु भएको जानकारी दिए।

राष्ट्र बैंक ऐन २०५८ को दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। सोहीअनुसार गभर्नर छनोट प्रक्रिया अघि बढेको छ।

सरकारले नयाँ गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा शुक्रबार सिफारिस समिति गठन गरिएको हो। समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल छन्। समितिले चैत १७ गतेभित्र आवेदकमध्येबाट सटलिस्ट गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। सर्टलिस्टमा परेकामध्येबाट एकजनालाई २४ गतेअघि नै गभर्नरमा नियुक्ति गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast