
काठमाडौँ– कोरोना महामारीपछि रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको आकर्षण बढ्न थालेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६६७ विदेशी श्रमिक नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकमा छ।
यस वर्ष आठ महिनामा नयाँ श्रम स्वीकृति लिने गैरनेपाली नागरिक ५८६ र नवीकरण गर्नेको संख्या १ हजार ८१ रहेको विभागले जनाएको छ।
गत आवको तुलनामा चालु आवको फागुनसम्म २ सय २८ जना बढी विदेशी कामदार भित्रिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए। उनका अनुसार आर्थिक वर्षको सुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटे पनि गत कार्तिकदेखि बढेका छन्।
रोजगारीका लागि नेपाल आउने विदेशी कामदारका हकमा २/३ वटा प्रावधान रहेका छन्। कुनै ठूला प्रोजेक्ट सञ्चालन गर्न नेपाल सरकारसँग सम्झौता हुँदा नै कामदार विदेशी राख्ने भन्ने पहिला नै माग गरिने उनले बताए।
श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ अनुसार नेपालमा उपलब्ध नभएको दक्ष जनशक्तिमात्र निर्माणधीन विकास साझेदारी कम्पनीले कामदार राख्न पाउँछन्।
नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेको विभागले जनाएको छ।
नेपालका श्रमिकलाई प्राथमिकता दिएरमात्र विदेशी दक्ष र सीपयुक्त विदेशी जनशक्ति भित्र्याउन यस क्षेत्रका विभिन्न सारोकारवाला निकायहरुले माग गर्दै आएका छन्। विकास साझेदारी कम्पनीले नेपालीलाई भन्दा अर्धदक्ष विदेशी श्रमिकलाई महत्व दिइरहेको उनीहरुको आरोप छ।
विदेशीले काम गर्ने कतिपय परियोजनामा नेपाली श्रमिकलाई मात्र कटौती गरिरहेका छन्। यस विषयमा अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने सारोकारवाला निकायको माग छ।
वार्षिक २ हजार ५ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागले जनाएको छ। गत आवको तथ्यांक अनुसार २ हजार ६ विदेशीले नेपालमा काम गर्न सरकारबाट अनुमति लिएका थिए। नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार आउने गरेका छन्।