वैज्ञानिक युगका अवैज्ञानिक मान्छे

रोहिणीराज तिमिल्सिना ४ चैत २०८१ १३:४२
12
SHARES
वैज्ञानिक युगका अवैज्ञानिक मान्छे

आजको मान्छे विज्ञानका, वैज्ञानिकका कुरा भनेपछि उत्सुकता देखाउँछ र अध्यात्म संस्कृतिका कुरामा नाक चेप्र्याउँछ। विशेष गरेर युवावर्गमा अध्यात्मचेतनाको निकै कमी देखिन्छ, जसका कारण युवा-जनशक्ति आफ्नो पूर्वीय अध्यात्मविज्ञान एवं संस्कृतिको बेवास्ता गरी विदेशी छाडा संस्कृतितर्फ उन्मुख भइरहेको छ। आजको युवावर्गलाई न आफ्नो संस्कृतिको महत्त्व थाहा छ, न त पराया संस्कृतिको रहस्य नै उसले बुझेको छ तर पनि ऊ पराया संस्कृतितर्फ आकृष्ट देखिन्छ। त्यतिमात्र नभएर आजको युवावर्ग पूर्वीय मानवीय सभ्यता-संस्कृतिको पहिचान गर्न नसकी दिनप्रतिदिन कुविचार, कुलत र दुर्व्यसनको सिकार बनिरहेको छ।

यद्यपि स्थायी सुखशान्ति सबैको चाहनाको विषय हो। आधुनिक विज्ञानले सुखसुविधाका अजस्र आविष्कारमार्फत यत्किञ्चित् सुखशान्ति त दिइरहेको छ तथापि स्थायी रूपले त्यसमा निरन्तरता प्राप्त गर्न अध्यात्मविज्ञानलाई पनि साथसाथै अघि बढाउनु अनिवार्य छ। आज आधुनिक विज्ञान र अध्यात्मविज्ञानका बीच जुन दूरी देखा परेको छ, यसलाई वैचारिक मन्थनबाट मेट्नुपर्ने भएको छ।

सन्दर्भ हो- शैक्षिक सत्र २०६९ को, निकै पहिले विद्यालयीय शिक्षणमा मस्ती लिइरहँदाको। एक दिन म कक्षा आठका विद्यार्थीलाई पढाउँदै थिएँ। ‘जगदात्मा सूर्यः’ पाठ पढाउने क्रममा सूर्यकिरण Ray का आधारमा रयि (प्राण) धारीहरूको जीवन निर्भर रहने अनि सात किरण VIBGYOR = Violet, Indigo, Blue, Green, Yellow, Orange र Red पढाएर Colorless वस्तु आँखाले देख्न नसकिने तथ्य उदाहरणसहित स्पष्ट पारेँ।

उदाहरण दिने क्रममा मैले भनेँ- ‘जसरी हावा देखिँदैन, हावा Colorless हो, आकाश देखिँदैन, आकाश Colorless हो, बादल देखिन्छ, बादल Colorless हैन, धुवाँ देखिन्छ, धुवाँ Colorless हैन, बाफ देखिन्छ, बाफ Colorless हैन, पानी देखिन्छ, पानी पनि Colorless छैन। हावा र आकाश Colorless वस्तु हुन् भने बादल, धुवाँ, बाफ, पानी आदि Colorful वस्तु हुन्…।’ यत्तिकैमा विद्यार्थीहरूले भने- ‘No Sir ! We never read like this in science. Our science teacher taught us that Water is colorless.’

मैले मुसुक्क हाँसेर उनीहरूलाई विज्ञानले पानीलाई Colorless भन्नुको प्रयोजन बताउँदै यथार्थमा पानी Colorless नभएको र Science teacher ले समेत कुनै विशेष कारणले त्यस्तो पढाउनुभएको भन्दै थामथुम पारेँ।

बिचरा विद्यार्थीहरू, विज्ञानविषयका शिक्षकले पढाउनुभयो, ‘Water is colorless’, उनीहरूले पाठ रटे, पाठ बुझाए अनि मलाई पनि त्यही रटेको पाठ सुनाए। यथार्थमा पानी Colorless नहुँदानहुँदै पनि पानीको पारदर्शिता (Transparency) का कारण त्यसलाई विज्ञानले Colorless भनेको कुरा विद्यार्थीहरूलाई कसले बताइदिने! ती विद्यार्थीहरूका विज्ञानशिक्षकले कुनै जमानामा पढाएको कुरा पनि ‘Water is colorless’ नै त थियो अनि त्यही कुरा उहाँले निःसन्देह भएर आफ्ना ती विद्यार्थीहरूलाई पनि पढाइदिनुभएको थियो। आँखाले देखिने वस्तु पनि Colorless हुनसक्छ र ! भन्ने कुरा न कहिल्यै शिक्षकका मनमा आयो, न त कुनै विद्यार्थीले नै सोच्यो। किनभने त्यो विज्ञानले, वैज्ञानिकले भनेको कुरामा ती विज्ञानका भक्तलाई केको शंका?

जड पिण्ड चन्द्रमा र सूर्यको सत्ता कुनै चैतन्यको सत्ताविना सम्भव नभएको तथ्य वा ‘न तत्र सूर्यो भाति न चन्द्रतारकम्’ (मुण्डकोपनिषद् २/२/१०), ‘न तद्भासयते सूर्यो न शशाङ्को न पावकः’ (श्रीमद्भगवद्गीता १५/६) आदि श्रुतिस्मृतिको ज्ञान पटक्कै नभएका र आफूलाई वैज्ञानिक युगका मान्छे भन्न रुचाउने आजको मनुष्य आफ्ना बाबुआमाले चन्द्रमाको पूजा गरिरहेको देखेर आश्चर्य मान्दै ‘मान्छेले चन्द्रमामा टेकिसक्यो, यी हाम्रा बाउआमाचाहिँ अझै पनि चन्द्रमाको पूजा गर्दैछन्’ भनेर हाँस्छ तर आफ्नै आँखाले देख्दा-देख्दै पनि उसले पानीलाई रङहीन (Colorless) भनिरहेको सुनेरचाहिँ को हाँसिदिने होला कुन्नि!

आँखाले झल्झल्ती देख्दा-देख्दै पनि पानीलाई Colorless भन्नु र उसले आफैँलाई बाँदरको सन्तान घोषित गर्नु उस्तै-उस्तै कुरा हुन्। उसकै पुर्खाले उहिल्यै ‘अभास्वरशुक्लं जले, भास्वरशुक्लं तेजसि’ (तर्कसङ्ग्रहः १८) लेखिदिएर गएका छन्। ज्ञानविज्ञानका थुप्रै रहस्यात्मक कुराहरूमा समेत ऊ आफ्नै प्राचीन ज्ञानपरम्परामा निर्भर रहन सक्छ भने यस्ता झिनामसिना कुरामा त झनै उसले आधुनिक विज्ञानको मुख ताक्नुपर्ने आवश्यकता नै थिएन तर विडम्बना! न ऊ आफ्नै पुर्खाको भाषा बुझ्न सक्छ, न त यस्ता तमाम विषयका सन्दर्भमा ‘हाम्रा पुर्खाले चाहिँ के भने होलान्’ भन्ने कुरामा उसलाई चासो छ।

पल डेउसन (Paul Deussen) आदि जर्मन दार्शनिकहरू ‘ज्ञान-विज्ञानको वृक्षमा उपनिषद्‌जस्तो मनोरम फूल अर्को कुनै छैन’ (History of Philosophy by Paul Deussen) भन्दै अनि जर्ज बनार्ड श (George Bernard Shaw) जस्ता युरोपीय विद्वान्‌हरू ‘हिन्दुहरूको जीवनशैलीले एउटा यथार्थता र प्राकृतिक शैली देखाउँछ तर हामी पश्चिमाहरूले आफूलाई जहिले पनि अप्राकृतिक मुखुण्डोले छोपेका हुन्छौँ’ (Hinduism : Path of the Ancient Wisdom by Hira G. Badlani) भन्दै उसका पुर्खाहरूको ज्ञानपरम्परा एवं उच्च जीवनचर्याको प्रशंसा गर्छन्।

पूर्वीय ज्ञानगरिमा एवं अध्यात्मविज्ञानको प्रशंसा नगर्ने पाश्चात्य दार्शनिक, वैज्ञानिकहरू त सायदै भेटिएलान् तर ऊ भने आफ्ना पुर्खाको त्यो महनीयताको गौरवबोध गर्नै सक्दैन। त्यसैले त आफ्नै पुर्खाले तर्क एवं अनुभूतिद्वारा उहिल्यै सिद्ध गरिदिएका कुराहरूमा समेत आधुनिक विज्ञानकै परिवर्तनशील तथ्यका पछाडि एकोहोरो भएर दौडिरहेको छ।

प्रकृत सन्दर्भलाई जोड्दा, जुन वस्तुमा कलर छैन, न त्यस वस्तुलाई देख्न सकिन्छ, न त त्यसलाई Colorful बनाउन नै मिल्छ। पानीमा अन्य कुनै पनि Color मिलाएर विभिन्न कलरमा परिवर्तन गर्न पनि मिल्छ। पानीमा Orange Tang हाल, पानी Orange color को बन्छ, Mango Tang हाल, Mangoजस्तै Yellow color को बन्छ तर हावामा कलर भर्न खोज्यौ भने त्यो तिम्रो सबैभन्दा ठूलो मूर्खता हुनेछ? रङको पर्व होलीका बेला आकाशमा हावासँगै उडिरहेको रङलाई देखेर समेत कसैले भन्दैन, ‘मैले हावालाई देखेँ या आकाशलाई देखेँ ।’ किनभने रङहीन वस्तुमा रङ सर्वथा असम्भव छ। रङयुक्त वस्तुमा नै रङमिश्रण एवं रङ परिवर्तन गर्न सकिन्छ। त्यसैले त अदृश्य हावा र आकाश रङहीन वस्तु हुन् भने दृश्य पानी रङहीन वस्तु हुनै सक्दैन।

आजको मान्छे ‘कागले कान लग्यो’ भनेको सुनेर आफ्नो कान छाम्न छाडी कागको पछि-पछि दौडने खालको छ। विज्ञानले भनेको भनेपछि सुगा-रटाइ गरेरै भए पनि आँखा बन्द गरेर त्यसलाई स्वीकार्ने अनि अध्यात्मले भनेको भनेपछि प्रशस्त तर्क र प्रमाण नै दिए पनि वास्ता नगर्ने! आजको मान्छे हदैसम्मको तर्कहीन मानसिकता बोकेर विज्ञानका पछि दौडेको छ। वास्तवमा संसारमा त्यस्तो कुनै वस्तु छैन, जो Colorless भएर पनि देखिन्छ। आँखाको विषय नै Color/Sight हो, आँखाले देख्ने भनेकै Color लाई हो। अब भन्नुस्, Color-विनाको वस्तु देख्न सकिन्छ? असम्भव। भनिन्छ- ईश्वरको कुनै रूप-रङ हुँदैन। वस्तुतः ऊ निराकार अनि नीरूप छ। अरूको कुरा छाड्नुस्, सर्वशक्तिमान् ईश्वरसमेत आफ्नो प्रिय भक्तका अगाडि Colorless भएर देखा पर्न सक्दैन। त्यसका लागि उसले समेत Colorful राम, कृष्ण, बुद्ध आदिको दैहिक स्वरूप धारण गर्नैपर्छ।

आजको मान्छे आफूमा भन्दा बढी आधुनिक विज्ञानमा विश्वास राख्छ। विज्ञानले गरेको भनेपछि ऊ आँखा चिम्लेर स्वीकार्छ तर अध्यात्मका कुरामा त्यति सजिलै विश्वास गर्न सक्दैन  न उसले सुन्दै गरेको वैज्ञानिक खोजको प्रयोगशाला देखेको हुन्छ, न त अध्यात्मको अनुसन्धानशाला नै, तर पनि अध्यात्म र आधुनिक विज्ञानप्रति उसको दृष्टि सकारात्मक र नकारात्मक दुई भिन्न धारमा सिर्जिएको हुन्छ। वास्तवमा ऊ विज्ञानको अन्धभक्त हो। उसले कुरो बुझेकै छैन।

विज्ञानले आज एउटा कुरा घोषित गर्छ, भोलि फेरि त्यसैलाई अर्को प्रमाणित गर्छ। आज एउटा वैज्ञानिकले ‘पृथ्वी चेप्टो छ’ भन्यो, भोलि अर्को वैज्ञानिक त्यसलाई गलत सिद्ध गर्दै पृथ्वीलाई गोलाकार घोषित गर्छ। त्यसैले प्रसिद्ध अमेरिकी वैज्ञानिक डा. मेरिट स्टेन्ली कङ्ग्डन (Dr. Merritt Stanley Congdon, 1897-1979) भन्छन्- ‘विज्ञान परीक्षण गरिएको ज्ञान हो तर यसमा भ्रम छ र यो अपूर्ण छ। वैज्ञानिक दर्शनको गतिविधिमा यो नै अन्तिम निर्णय हो भन्ने हुँदैन। अतः वैज्ञानिकहरू भन्छन् – हालका लागि तथ्यहरू यति वा यस्तै छन्।’

अध्यात्मदर्शन भने त्यस्तो अपूर्ण र दोधारे कुरो गर्दैन। अध्यात्मविज्ञानले आजभन्दा हजारौँ वर्ष-पहिले जे कुरा गऱ्यो, ऊ आज पनि त्यही कुरो गर्दै छ। यसमा विज्ञानको जस्तो बाहिरी खोजमात्र हैन, भित्री अनुसन्धान पनि हुन्छ अनि यसको अदृश्यका साथ-साथै दृश्य प्रयोजन पनि हुन्छ। खोज्ने, प्रयोग-परीक्षण गर्ने काम त जिज्ञासुको आफ्नै हो।

जुन योग-ध्यानप्रति आजको पश्चिमी समाज दिन-प्रतिदिन आकृष्ट भएर लागिरहेको छ, त्यो पूर्वीय अध्यात्मविज्ञानकै उपज हो भन्ने कुरा पनि सायद आजको मान्छेलाई बुझाउनुपर्ने भएको छ। पूर्वीय अध्यात्म एवं संस्कृतिभित्र रहेका अनगिन्ती विषयवस्तुमा पाश्चात्य विद्वान्, वैज्ञानिकहरू अनुसन्धान गरिरहेका छन् तर ऊ आफ्नै दर्शन र संस्कृतिको विरोध गरेर हिँड्छ। कस्तूरीले आफ्नो नाभीमा रहेको सुगन्धको चाल नपाएर खोज्दै हिँडे-जस्तो यहाँको मान्छेको अवस्था छ।

आजको मान्छे आफूलाई ‘वैज्ञानिक युगको मान्छे’, ‘एक्काईसौँ शताब्दीको मान्छे’, ‘विकासशील युगको मान्छे’ भन्न रुचाउँछ तर आफू अवैज्ञानिक बन्दै गइरहेको उसलाई पत्तो छैन। एउटा उदाहरण लिनुपर्दा- आजभन्दा पाँच हजार वर्षअगाडि भगवान् कृष्णले मानिसका गुण र कर्मका आधारमा वर्णविभाजन गरेको कुरा भगवद्गीतामा उल्लिखित छ। त्यहाँ भगवान् श्रीकृष्णको कथन छ- ‘चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः’ (भगवद्गीता ४/१३)।

आजको मान्छे वर्णव्यवस्थाको विरोध गर्छ तर ‘त्यो वर्णव्यवस्थाको आधार के हो ?’ भन्ने कुरा उसले बुझेकै छैन। हर व्यक्तिको नसामा दौडने रगतको चातुर्विध्य मान्ने कुरामा उसलाई कुनै आपत्ति छैन। किनभने त्यो आधुनिक विज्ञानले बताएको कुरो हो तर वर्णको चातुर्विध्य उसलाई पाच्य छैन। आधुनिक विज्ञानले DNA (Deoxyribonucleic Acid) र RNA (Ribonucleic acid) को परीक्षण गर्दै आनुवंशिक खोज प्रारम्भ गरिसक्यो। यसबाट आफ्ना पुर्खाहरूसम्बन्धी तथ्य पत्ता लगाउने कार्य एवं प्राचीन वर्णव्यवस्थाको वैज्ञानिकतासम्बन्धी चर्चा संसारमा आरम्भ भएको छ। वर्णव्यवस्थाका विरोधीहरूको समेत घैँटोमा आधुनिक विज्ञानको खोजविषयक वर्णव्यवस्थाको वैज्ञानिक घाम लाग्दै छ।

वर्णव्यवस्थागत जातीयताको आधारमा मात्र हैन, कुनै पनि आधारमा हुने सामाजिक विभेद उचित हैन तर सगोत्री विवाह र वर्णसंकर (Hybrid) सन्तानोत्पादनको दुष्परिणाम तथा वर्णगत कर्मकौशल आदि कुरामा वर्णव्यवस्थागत वैज्ञानिकताको पक्षमा आधुनिक विज्ञानले समर्थनको हात उठाइरहेको तथ्यलाई नकार्न सकिँदैन।

आजको मनुष्य जगत्‌मा अस्तित्वमान् हर विविधता र विचित्रतालाई सहजै स्वीकार्छ तर वर्णगत वैविध्यलाई स्वीकार्न किमार्थ तयार छैन। बरु ऊ आफैँ जन्मगत आधारलाई मानेर आफ्नो वर्गलाई जातीय उपनाम दिएर हिँडिरहेको छ। त्यो वर्ण-व्यवस्थाको आधार अनि समवर्णमा वैवाहिक सम्बन्ध बनाउनुपर्ने र समगोत्रमा बनाउन नहुने कुरो कति वैज्ञानिक एवं व्यवस्थित छ भन्ने तथ्य उसले बुझेकै छैन र पनि विना-अर्थ विरोध गरिहिँड्छ। हाम्रो यस परम्पराको अनुसन्धानमा लागेर वैज्ञानिकहरू यसलाई उपयुक्त साबित गर्दैछन्। अब भन्नुस्, आजको मान्छे अवैज्ञानिक छ कि, पौरस्त्य विज्ञान? आजको मान्छे अध्यात्मप्रेमी व्यक्तिलाई अवैज्ञानिक भन्दै हिँड्छ तर आफू अवैज्ञानिक भएको बिचरो उसलाई पत्तै छैन।

वास्तवमा आजको मान्छेलाई दुवै कुरा चाहिएको छ। उसलाई भौतिक विज्ञान चाहिएको छ र आध्यात्मिक विज्ञान पनि। उसलाई समयानुसार सुखसुविधाको उपभोगका निम्ति भौतिक विज्ञान आवश्यक छ भने जीवनलाई सही मार्गमा अघि बढाएर आत्मिक उन्नतिमा सफलताप्रप्तिका निम्ति आध्यात्मिक विज्ञान अत्यावश्यक छ तर ऊचाहिँ यो विज्ञानको समन्वयबाट हुने लाभबाट सदा अनभिज्ञ रहेको देखिन्छ। त्यसैले त ऊ जति उन्नति गरे पनि सदा अपूर्णको अपूर्ण छ।

त्यसैले मलाई भन्न मन लाग्छ- ए भौतिक विज्ञानवादीहरू! ए आधुनिक विज्ञानका अन्धभक्तहरू! तिमीहरू अपूर्ण छौ। बिलकुल अपूर्ण। पूर्णता चाहन्छौ भने भौतिकताको गन्धे पोखरीमा मात्र गोता मार्न छाडेर अध्यात्मविज्ञानको पाखामा आओ। अध्यात्मविज्ञानको अनन्त उज्यालोमा निस्क। अध्यात्मविज्ञानीहरूलाई जुन तिमीहरूले ‘पाखे’ भन्ने गरेका छौ, त्यो बिल्कुल ठिक भन्ने गरेका छौ। हामी पाखे नै हौँ। हामीलाई भौतिक विज्ञानको खाँचो पटक्कै नभएको हैन तापनि केवल भौतिकताको गन्धे पोखरीमै डुबिरहेर मर्ने चाह हामीलाई छैन। हामी त अध्यात्मविज्ञानको पारिलो पाखा बढी मन पराउँछौँ। त्यसैले हामीले उहिल्यैदेखि भन्ने गरेको हो-

विज्ञान कर्म हो, कर्म गर्नुपर्छ गरिन्छ त्यो ।
ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ। (नाट्यसम्राट् बालकृष्ण सम, नाटक- प्रह्लाद)

अध्यात्मको पाखोमा बसेर आत्मचिन्तनको घाम ताप्नुमा जुन आनन्द छ, त्यहाँ जुन मस्ती छ, त्यो विज्ञानी पोखरीको धमिलो पानीमा कहाँ? आँखा बन्द गरेर गरिने आध्यात्मिक अनुसन्धानमा जुन मजा छ, त्यसमा जुन आत्मिक शान्ति र प्रसन्नता छ, त्यो विज्ञानको नीरस प्रयोगशालामा कहाँ? सधैँ क्षणिक सुखको, टुटेर जाने भौतिक आनन्दको भोगमा चुर्लुम्म डुब्दै गर्दा कुनै अक्षणिक, अभौतिक नित्य आनन्द पनि हुन्छ भन्ने कुरा नै तिमीले भुलिसकेका छौ। आफ्ना पुर्खा ऋषिवृन्दले अनुसन्धान गरी तिम्रो सर्वतोमुखी उन्नतिका निम्ति छाडेर गएको ज्ञान र प्रयोगलाई पुरानो रूढीवादी (Conservative) परम्पराको संज्ञा दिँदै तिमी त आजभोलि पराइको देखासिकीमा पो लागेका छौ क्यारे। तिमीलाई त्यो आर्ष ज्ञान, आर्ष सभ्यताको महत्त्व के थाहा?

एउटा टोपीको घुमन्ते व्यापारी गाउँमा घुमेर टोपी बेच्दा-बेच्दै थकाइ लागेर एउटा चौतारोमा पल्टिन्छ। थकाइका कारण ऊ भुसुक्कै निदाउँछ  ब्युँझदा छेउमा राखेको टोपीको झोला खाली देख्छ। यसो मास्तिर हेर्छ त, थुप्रै बाँदरहरू टोपी लगाएर हाँगाहरूमा बसिरहेका छन्। ती बाँदरहरूबाट आफ्ना टोपी कसरी फिर्ता लिने होला! उसलाई चिन्ता पर्छ। कुनै उपाय नसुझेपछि आफ्नो शिरको टोपीसमेत खोलेर फ्याँक्दै पुर्पुरोमा हात लगाई झोक्राएर बस्छ।

केही बेरमा टोपीको व्यापार चौपट भइहाल्यो, अब घर जानुपऱ्यो भनेर टाउको उठाएर उठ्न खोज्दा त सबै टोपी उसले टोपी फ्याँकेकै ठाउँमा खसेको पाउँछ र दंग पर्दै टोपीहरू समेटेर बाटो लाग्छ। त्यहाँ भएको चाहिँ के थियो भने उसले टोपी खोलेर फ्याँकेपछि उसैको नक्कल गर्दै बाँदरहरूले पनि आ-आफ्ना शिरको टोपी खोलेर मिल्काएका थिए। बाँदर त पशु न हो। उनीहरूमा विवेकशीलता हुँदैन। अर्काले जे गऱ्यो, त्यही गर्छन्। आजको भौतिकविज्ञानवादी मान्छे ठ्याक्कै त्यस्तै छ। अर्काले जे गऱ्यो, भन्यो, त्यसैलाई पछ्याउँछ। त्यसमा स्वविवेकको प्रयोग नै गर्दैन। विज्ञानले प्रकाश तातो हुन्छ भन्यो भने हो, तातै हो भन्छ। हैन, हैन चिसो हुन्छ भन्यो भने पनि आँखा चिम्लिएर त्यसमा विश्वास गर्छ, समर्थन जनाउँछ। किनभने त्यो उसका पुर्खाले भनेका हैनन्, त्रिकालदर्शी ऋषिहरूले भनेका हैनन्। उसका पुर्खाभन्दा त ऊ नै बढी जानकार छ नि। हैन ? उनीहरूभन्दा ऊ नै बढी विद्वान् होला अनि ऊभन्दा पनि समझदार चाहिँ उसका विश्वासपात्र विज्ञानवादीहरू छन् क्यारे !

वैज्ञानिक तथ्यमा आजको मान्छेको प्रतिक्रिया हुने गर्छ- ‘यो त विज्ञानले भनेको हो नि। कुनै प्रयोग, परीक्षण गरेरै भन्यो होला। त्यसैले सत्य छ, सत्य मान्नुपर्छ। फेरि पछाडि कुनै अर्को वैज्ञानिकले ‘यो हैन, अर्कै हो’ भनेछन् भने यसलाई छाडेर त्यसैलाई सत्य मानौँला।’ मूर्खताको पनि एउटा हद हुन्छ। उसलाई यत्ति पनि थाहा छैन कि, सत्य परिवर्तनशील हुँदैन। पृथ्वी कि चेप्टो हुनसक्छ, कि त गोलो। चेप्टो र गोलो दुवै हुनै सक्दैन।

मानिसलाई मानव किन भनिन्छ? पुर्खाले उसलाई मनुका सन्तान भने। मनु + अण् = मानवः, ‘मनोरपत्यं पुमान्’ अर्थात् मनुको सन्तान भएकैले ऊ ‘मानव’ कहलाएको हो। आधुनिक विज्ञानले आजको मानवलाई बाँदरका सन्तान भनिदियो। आफूलाई बाँदरको सन्तान भनिएकोमा आधुनिक भनाउँदो आजको मानवलाई कुनै खेद छैन। ऊ प्रसन्नै छ तर आफूलाई मानव भएकोमा गौरवबोध गर्ने म कसरी आफूलाई वानरको सन्तान मान्न सक्छु र?

ऊ भने आफ्ना पुर्खाको वचनलाई बेवास्ता गरेर आधुनिक विज्ञानकै पछि दौड लगाइरहेको छ। आफ्नो कुललाई मनुकुल, ऋषिकुल मान्ने बाउ-बाजेको उपदेशलाई चटक्कै भुलेर आफू र आफ्ना सन्ततिलाई बाँदरका सन्तान मान्ने उसको बुद्धि पनि अर्काको देखासिकी गर्दागर्दै बाँदरकै जस्तो भइसकेको छ। त्यसैले ठ्याक्कै उसकै चित्रण गर्दै स्व. कवि नीराजन पन्त लेख्छन्-

हामी वानरबाट मानव भयौँ मान्दैनथ्यौँ यो कुरा ।
हामी मानवबाट बाँदर भयौँ मान्छौँ बरू यो कुरा ॥ (कविता- वैदिक सभ्यता)

उताकाहरूले योगासन गजबको कुरो भनेर म्याटमा बसेपछि ऊ गुन्द्री बुन्ने तान लगाउन थाल्छ अनि उनीहरू प्राणायाम-ध्यानका निम्ति चकटीमा बसेपछि मात्र ऊ चकटी बनाउनका लागि खोसेला बटुल्न लाग्छ। उसको यो कस्तो खालको बुद्धिमत्ता हो कुन्नि!

आफ्नो सांस्कृतिक, आध्यात्मिक विरासतलाई बेवास्ता गरेर खाली अर्काको मात्र नक्कल गर्ने उसको यही वानरप्रवृत्तिका कारण ऊ अध्यात्मको उच्च आनन्दबाट, आत्मविज्ञानको उत्कृष्ट लाभबाट वञ्चित भइरहेको छ। उसले आफू पूर्ण सुखी भएको अनुभव आजसम्म पनि गर्नसकेन। भौतिक वैज्ञानिक उन्नतिको यो चरम उत्कर्षमा प्राप्त भइसक्दा पनि ‘अब त पुग्यो’ भनेर ऊ कृतकृत्य भई चुप लागेर बस्नसकेको छैन। किनभने यो उन्नतिले उसलाई सन्तुष्टिको अनुभूति दिनै सक्दैन।

स्थायी एवं पूर्ण सुखशान्ति सबैको प्राप्त्याशाको विषय हो। यस्तो सुखशान्ति अध्यात्मविज्ञानको अनुशीलनविना कदापि सम्भव छैन। त्यसैले त हाम्रा कविशिरोमणि लेखनाथ पौड्याल केवल भौतिकविज्ञानको पिच्छलग्गू बनेर संसार जित्ने होडमा लागेको आजको मनुष्यलाई घचघच्याउँदै लेख्छन्-

उन्नति तिम्रो आध्यात्मिक हो, भवसागरको जुन नाविक हो ।
उसतिर देख्दा तिम्रो पीठ, बहुत मलाई लाग्यो टीठ।
भौतिक सम्पति अरब कमाऊ, जल थल नभ सब टम्म जमाऊ ।
त्यसमा तिम्रो उन्नति छैन, त्यो सब सपनाको हो चैन।। (गौँथली बोल्यो चिरिबिरि च्यार्र २२-२३)

यति हुँदाहुँदै पनि जीवन रहुन्जेल मानिसलाई भौतिक विज्ञानको साथसमेत चाहिएको छ। त्यसैले आजको समाजका लागि जीवनवृत्तिपरक भौतिक विज्ञानका साथमा मनुष्यजीवनको सर्वोत्कृष्ट प्रयोजनरूप अध्यात्मविज्ञानको अनिवार्यतालाई सम्झाउँदै चेतनाको सञ्चार गर्नु जरुरी छ। सम्पूर्ण जातजाति, भाषाभाषी र सम्प्रदायका हरव्यक्तिले भौतिक विज्ञानसँगसँगै अध्यात्मलाई समेत अपनाउनु आवश्यक छ। अध्यात्म एवं आधुनिक विज्ञानको अन्तःसम्बन्धका बारेमा जान्नु तथा दुबैको समन्वयात्मक सरणिलाई अपनाउँदै गन्तव्यतर्फ लाग्नु शान्त र सुखी जीवनका निम्ति आजको टड्कारो आवश्यकता हो। बरु भौतिक वैज्ञानिक उन्नति नभए पनि चल्छ, जसरी पहिले चलेको थियो तर आध्यात्मिक उपलब्धिविना मानवजीवन व्यर्थ छ। सबैलाई चेतना भया…!!

[तिमिल्सिना त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन्।]
[email protected]

प्रकाशित: ४ चैत २०८१ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast