माटोको कथासँग रंगमञ्चमा रमाइरहेका रिन्छेन

सुस्मिता बजगाईं २७ फागुन २०८१ २०:२९
166
SHARES
माटोको कथासँग रंगमञ्चमा रमाइरहेका रिन्छेन

काठमाडौँ- पछिल्लो समय भूगोलमा आधारित मञ्चन भएका नाटकमा देखिरहने एक पात्र हुन् रिन्छेन कुन्छोक मोक्तान ‘विष्णु’। रंगमञ्चमा प्रवेश गरेको दुई दशकमा उनले बन्द र खुला रंगमञ्चमा गरी थुप्रै नाटकमा अभिनय गरिसकेका छन्। पछिल्लो समय  उनी एकपछि अर्को भूगोलकेन्द्रित नाटक ‘मासिन्या’, ‘बाखाम्माः मुन्धुममा मान्छे’, ‘मेषीदण्ड’, ‘मुक्कुमलुङः याक्थुङ अफ चोत्लुङ’ मा निरन्तर देखिरहेका छन्।

मोक्तानलाई तामाङ, लिम्बु, किराँत, राईसम्मको चरित्रमा लगातार काम गर्न त्यति सहज थिएन। उनी भन्छन्, ‘लगातार एकपछि अर्कोमा काम गरिरहँदा सुरुका दिनमा शारीरिक र मानसिक रूपमा क्यारेक्टर सिफ्ट गर्न असहज भइरहेको थियो।’ नाटक अभिनयको दैनिक रिहर्सलले सहज भएको बताउँछन्।

अभिव्यक्तिको माध्यम नाटक भएकाले मोक्तान आफ्नो कुरा व्यक्त गर्ने रोजाइमा रंगमञ्च परेको बताउँछन्। हरेक नाटकमा नयाँ पात्र बनेर आउनुपर्ने भएकाले सबैको अनुुभूूति उनलाई गजब लाग्छ। उनी भन्छन्, ‘प्रत्येक नाटकमा हामी नयाँ पात्र बनेर आउनुपर्छ। कथाअनुसार काम, क्यारेक्टर, पात्रको साइकोलोजी, उसको मोभमेन्ट, उसले सोच्ने शैली, पद्धति, उसको पृष्ठभूमि, उद्देश्यलगायत थुप्रै कुरा फरकफरक हुन्छ। हरेक नाटकमा आफूले अभिनय गरेको पात्र होस् या कुनै नयाँ काम गर्दाको अनुभूति गज्जब हुन्छ।’

अहिले मोक्तान थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’मा अभिनय गरिरहेका छन्। यो कस्तो नाटक हो त भन्ने प्रश्नमा उनी भन्छन्, ‘हाम्रो गाउँतिर भनिने वनझाँक्रीको कथा हो। यसमा मिथको प्रयोग छ। वनझाँक्रीको कथा सबै भेगतिर प्रचलित छ।’

मोक्तानले भोजपुरको खाँवा भन्ने ठाउँमा वनझाँक्री अत्यधिक हिँडडुल गर्ने विश्वास रहेको बताए। भाषिक रूपमा त्यहाँका किराँत समुदायले वनझाँक्रीकी श्रीमतीलाई लेम्लेमा भन्ने गर्छन्। उनी भन्छन्, ‘पहिलो मानवको उत्पत्ति खरानी र सुलीबाट बनेको भनिन्छ। खरानीले फोहोर सफा बनाउँछ। हामीले उम्लिँदो खरानीलाई यही बिम्बमा काम गरिरहेका छौँ। नाटक हेरेपछि दर्शकले बुझ्नुहुनेछ।’

मोक्तान नाटकमा पिताको भूमिकामा छन्। रिन्छेनकै भनाइअनुसार पुरुषप्रधान समाजले महिलालाई दबाउन कसरी गलत व्याख्या गर्छ भन्ने नाटकमार्फत देखाउन खोजिएको छ।

पहिले भूगोलको कथा रंगमञ्चमा नआएकाले अहिले आउनु स्वाभाविक ठान्छन् मोक्तान। उनले यी नाटकलाई जातीय भनेर पहिचानका कुरा उठाउन खोज्नु भनेको फेरि पञ्चायतकालतिर फर्किनु जस्तो लाग्ने बताए।

उनले भने, ‘जसरी यी नाटकलाई जातिविशेष भनेर गलत भाष्य निर्माण भइरहेको छ, त्यसले हामीलाई फेरि पञ्चायततिर पुर्याउँछ। हामी जातिरहित समाज स्वीकार्न सकिरहेका छैनौँ। यस विषयमा हामीले एकअर्काको अस्तित्व ग्रहण गर्न सक्नुपर्छ।’

मोक्तान यसलाई नेपाली माटोको कथा भन्नु उपयुक्त रहेको तर्क गर्छन्। ‘यी नाटक एउटा समुदाय मात्र केन्द्रित छैन। हामीले मञ्चमा केही फम प्रयोग गर्‍यौँ होला तर यसलाई जातिविशेष नाटक भन्न मिल्दैन’, उनी थप्छन्, ‘हिजो दमनमा परेर शिक्षा, स्वास्थ्य, प्रशासनलगायतका सुविधाबाट वञ्चित वर्गका पीडा आजका पुस्तालाई थाहा नहुन सक्छ।’

नेपालको पहिचान बहुजाति, बहुभाषी, बहुसंस्कृति भनेर राज्यले चिनाइरहँदा त्यसलाई पुष्टि गर्ने आधार यी नाटक हुने उनको बुझाइ छ। ‘हामीले कलामार्फत नेपाली कथा ल्याएका हौँ’, उनले भने।

बाल्यकालदेखि अभिनयमा निरन्तरता

संखुवासभाको नुनढाकीमा जन्मिएका रिन्छेनले ८/९ वर्षको हुँदा नाटकमा अभिनय गर्ने मौका पाएका थिए। उनी कक्षा चारमा पढ्थे। रंगकर्मी मनी मोक्तान वन विनाशविरुद्धको पपेट्री नाटक लिएर धरान पुगेका रहेछन्। मनीले उनलाई बच्चाको भूमिकामा अभिनय गराका थिए। रिन्छेन सानै भएकाले नाटक बुझेका थिएनन्। आफू अभिनयमा लागेपछि मात्र उनले त्यसबारे थाहा पाए।

गाउँको सहनसहनमा हुर्केका रिन्छेन तामाङ सेलो, डम्फु बजाउने कलाप्रति रुचि देखाउँथे। त्यसैको प्रभावसहित अग्रज वीरेन्द्र हमाल, सुनिल पोखरेल, सुवास थापा, मनोज शाक्य, पेमा लामालगायत थुप्रै नाट्यकर्मी र पारिवारिककै सहयोगले उनी आफू कलाकारितामा रमाउन सकेको महसुस गर्छन्।

धरानमै हुँदा उनले रंगकर्मी सुवास थापा र राजेन्द्र रिमालसँग एक साता नाट्य कार्यशालामा सहभागी भए। २०६४ सालतिर उनी काठमाडौँ प्रवेश गरे। अग्रज रंगकर्मी वीरेन्द्र हमालसँग मिलेर एमआर थिएटरमा काम गर्न थाले। सिक्ने क्रममा पहिलोपटकको प्रोडक्सनको नाटकमा उनले ब्याक स्टेजमा रहेर काम गरे। ‘हाम्रो प्रोडक्सनको नाटक मञ्चन हुँदा सरले दुई टिमलाई मर्ज गर्नुभएको थियो। सबैलाई क्यारेक्टर पुग्दैनथ्यो। पहिलोपटक हामी केही साथी ब्याक स्टेजबाट सपोर्ट गरेका थियौँ। त्यसबेला हामीलाई अन स्टेजमा देखिन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो’, उनले विगत सम्झिए।

अन स्टेज भन्दा ब्याकमा बसेर काम गर्न गाह्रो हुने उनको अनुभव छ। ब्याक स्टेजमै रहेर उनले थुप्रै नाटक अभिनय गरे। केही वर्ष उपत्यका बसाइपछि गाउँ फर्किए। टिम मिलेर ‘रंगभूमि’ नाटक थिएटर खोले। आफ्नै लेखन र निर्देशनमा नाटक ‘अब टाउको कहिले हल्लिन्छ’ मञ्चन गरे। धरानकै विषय समेटिएको उक्त नाटकमा राज्यप्रति व्यङ्ग्य गरिएको थियो। २०७० सालमा धरान फर्केका रिन्छेन १० वर्षपछि नाटक ‘मासिन्या’ मञ्चन हुन थालेपछि काठमाडौँमै छन्। यसै क्रममा उनले थुप्रै नाटकमा काम गरे। ‘उहिलेका फोटोे’, ‘दिन बिताउँछु रिक्सा कुदाउँछु’ लगायत केही म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका छन्।

कलाक्षेत्र समेटेर बलियो नीति बनाउन जरुरी

रंगमञ्चमा बिताएका क्षण सम्झँदा उनले उपत्यका र मोफसल भनेर गरिने भिन्नताप्रति असन्तुष्टि रहेको दुःखेसो पोखे। विभेद गर्नेहरूको मनमा विगतको शासकीय राज्यसत्ता प्रणालीको धङधङी मेटिन नसकेको अडकलबाजी गर्दै उनले भने, ‘काठमाडौँ र काठमाडौँबाहिरको त्यो भिन्नताले सधैँ छोइरहन्छ।’

उपत्यकामा हुनेलाई राष्ट्रिय र अरुचाँहि के अराष्ट्रिय भन्ने प्रश्न गर्दै उनले उपत्यकाबाहिरको नाटकलाई मोफसल भन्दा मन दुख्ने बताए। ‘हिजोको राज्यसत्ता केन्दीकृत राज्यसत्तता प्रणाली थियो। उनीहरूको मानसिकतामा त्यसको धङधङी मेटिएको छैन’, उनले भने। रंगमञ्चमा मात्र होइन् अन्य क्षेत्रमा पनि सेवासुविधाको हिसाबले उपत्यका बाहिरकालाई कम आँक्ने प्रचलन नहटेको मोक्तानले बताए।

सुदूरपूर्व र सुदूरपश्चिमका जनता राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा समान हुनुपर्छ भन्ने उनलाई लाग्छ। राज्यको माथिल्लो निकायसम्म राजधानी केन्द्रित रहेकाले देश संघीय संरचनातिर मात्र लागिरहेको पो हो कि भन्ने भान उनले गरिरहेका छन्। मोक्तान भन्छन्, ‘नेपालका सबै क्षेत्रका नागरिक नेपाली हुन्। राज्यले राजधानीमा जति सिकाइको सुविधा दिएको छ गाउँमा पनि त्यतिकै आधार तयार गर्न सक्नुपथ्र्यो तर सकिरहेको छैन।’

अभिनयप्रति रुचि भएकाहरु विवशताले राजधानी आइरहनुपरेको छ। गाउँ होस् या सहर, नेपालमा जति पनि थिएटर स्थापना भएर नियमित सञ्चालनमा छन्, ती सबै रंगकर्मीकै लगानीकै आधार छ।

वर्षौँ लगाएर पनि रंगकर्मीहरु थिएटर निर्माण गरिरहेका छन्। राज्यपक्षबाट रंगमञ्चमा कति लगानी गर्‍यो भनेर समीक्षा गर्ने हो बिना लगानी भएको निष्कर्ष आउँछ। अझ गाउँमा रंगमञ्चकै अभाव छ। यसको समाधानका लागि राज्यपक्षले प्रदेशअनुसार एक थिएटर स्थापना गर्न सक्नुपर्ने उनको बुझाइ छ।

‘हामी इच्छाले वर्कसप गर्दै रहरले नाट्यक्षेत्रमा आयौँ। गाउँमा रंगमञ्चको अभाव छ। कतिपय स्थानमा रंगमञ्च बनाउने भनेर संरचना तयार भएको छ तर बन्न सकिरहेको छैन्’, मोक्तानले भने। दमकमा कदम थिएटरले पनि संरचना तयार पारिरहेकाे र आफूहरू धरानमै पनि बनाउने तयारीमा रहेको उनले बताए। उनी भन्छन्, ‘यो विषयलाई राज्यले संरक्षण गर्न सकिरहेको छैन। यसको सहजताका लागि राज्यपक्षबाट हिजोको पञ्चायत व्यवस्था त्यागेर सबै कला क्षेत्रलाई समेटिने गणतन्त्रात्मक नीति नियम बन्नु जरुरी छ।’

यो पनि

‘जातीय नाटक भनेर छुट्याउन खोज्नु हामी फेरि पञ्चायत कालतिर फर्किनु हो’

 

प्रकाशित: २७ फागुन २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast