
काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटक मञ्चन भइसकेकाे छ। फागुन १७ देखि सुरु भएको इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभलको आज अन्तिम दिन हो। आज ‘फरेवेल लेट अस गो टु साउथ’ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडको नाटक ‘अ लिटल बर्ड इन द केज’ मञ्चन हुनेछ।
फेस्टिभलमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशाला पनि सञ्चालन भइरहेको छ। आज सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन्। सबै कार्यशालाको समयावधि ३ घण्टाकाे छ।
‘शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा नेपाल, जापान, भारत, चीन, थाइल्यान्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुरसहित १३ देशका २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी भएका छन्।
फेस्टिभललाई जनमानसमा पुर्याउने उद्देश्यले यही ७ मार्च देखि ९ सम्म इटहरीको मेट्रिक्समा र मार्च १० मा धनकुटामासमेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमणको आयोजना गरिएको छ। फेस्टिभल इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्य आयोजना गरेको हो।
उपत्यकामा कुनकुन नाटक मञ्चन भए त?
फेस्टिभलको पहिलो दिन हङकङका मोक चि यु निर्देशित ‘विभिङ फ्रीडोम’, भारतका नाट्य चेतनाले प्रस्तुत रहेको ‘देवी’ र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको नाटक ‘मिटिङ’ मञ्चन भएको थियो। दोस्रो दिन ४ नाटक मञ्चन भएका थिए। नेपालबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्ल निर्देशित ‘अर्को कुरुक्षेत्र’, राज शाहको ‘मनोक्रान्ति’, फिलिपिनी नाटक ‘अरीमोमाँगा’ र थाइल्यान्डको नाटक ‘डिसेप्सन अफ द डेमन’ मञ्चन भएको थियो।
तेस्रो दिन बंगलादेशको नाटक ‘तुम्बा एण्ड द नेईवर’, सिंगापुरको ‘सिक्स माइक्रो लेक्चरस् अन् जेनोसाइड’ र चीनस्थित ग्रास स्टेज थिएटरको ‘बियोन्ड होप एण्ड डिस्पेअर’ प्रदर्शन गरिएको थियो। चौथो दिन हङकङको नाटक ‘तु दु, जापानी नाटककार इन्डी लीको ‘इट वोन्ट बी लङ नाउ’ र नतसुको किरितानीको ‘द ट्रान्स-बोर्डर’ मञ्चन भएको थियो।
त्यस्तै, फेस्टिभलमा पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहले कार्यशाला सञ्चालन गरे।
तेस्रो दिन दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहेको थियो।