५ करोड ७ लाखको राजस्व चुहावटमा दुई कम्पनीविरुद्ध मुद्दा

हिमाल प्रेस १४ चैत २०८१ ८:०६ | Thursday, March 27, 2025
५ करोड ७ लाखको राजस्व चुहावटमा दुई कम्पनीविरुद्ध मुद्दा

पर्सा- पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ रुपैयाँ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा अभियोगपत्र दायर गरेको हो।

अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ रुपैयाँ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार छ सय ८३ रुपैयाँ गरी कूल दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ रुपैयाँ बिगो कायम गरिएको उनले जानकारी दिए।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो।

यसैगरी वीरगन्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ १९ लाख ६० हजार १५१ रुपैयाँ र मूल्यअभिवृद्धिकरतर्फ बिगो १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ रुपैयाँको शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार चार सय २८ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ।

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन्।

प्रकाशित: १४ चैत २०८१ ८:०६ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast