आठ महिनामा ५०.४१ प्रतिशत मात्र राजस्व संकलन

हिमाल प्रेस २९ फागुन २०८१ १८:१८ | Thursday, March 13, 2025
आठ महिनामा ५०.४१ प्रतिशत मात्र राजस्व संकलन अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ– सरकारको राजस्व लक्ष्य पूरा गर्न नसक्ने संकेत देखिएको छ। आर्थिक वर्षको चार महिना बाँकी रहँदा ५०.४१ प्रतिशत मात्र राजस्व संकलन भएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि फागुन २८ गतेसम्ममा राजस्व संकलन वार्षिक लक्ष्यको मुस्किलले आधा मात्र पुगेको छ। कर राजस्व संकलन लक्ष्यको ४९.३६ प्रतिशत पुगेको छ भने गैरकर राजस्व संकलन तुलनात्मक रूपमा सकारात्मक छ। गैरकर राजस्व संकलन ६०.३४ प्रतिशत छ।

सरकारले विदेशी अनुदान पनि लक्ष्यभन्दा निकै थोरै मात्र पाएको छ। फागुन २८ गतेसम्ममा लक्षित रकमको १७.४३ प्रतिशत वैदेशिक अनुदान मात्र प्राप्त भएको महालेखाको विवरणमा उल्लेख छ।

सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ, गैरकर राजस्वबाट १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ र अनुदानबाट ५२ अर्ब ३२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। हालसम्म कर राजस्वमा ६ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ, गैरकर राजस्वमा ८१ अर्ब ५२ करोड रुपैयाँ र अनुदानमा ९ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँको महत्त्वाकांक्षी राजस्व लक्ष्य निर्धारण गरेको थियो। जुन अघिल्लो आव २०८०/८१ मा संकलन भएको १० खर्ब ३९ अर्ब रुपैयाँभन्दा ३४ प्रतिशतले बढी हो। हालसम्म ७ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत राजस्व लक्ष्यलाई संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँमा झारेको छ।

गत आर्थिक वर्षमा सरकारले १० खर्ब ९३ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा ३ खर्ब ७९ अर्ब रुपैयाँ कम संकलन भएको थियो, जुन लक्ष्यको ७४.२९ प्रतिशत थियो।

प्रकाशित: २९ फागुन २०८१ १८:१८ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast