
काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा पाँचदिने इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल हुने भएको छ। एशियन पिपल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फेस्टिभल हुन लागेको हो।
यही फागुन १७ देखि २१ (१-५ मार्च २०२५) सम्म पाँच दिने फेस्टिभलको आयोजना गरेको एशियन पिपल्स थिएटर फेस्टिभल सोसाइटीका प्रमुख मोक चिउ युले बताए। उनकाअनुसार फेस्टिभलमा नेपालसहित २० देशका १४ नाटक र १३ वर्कसप सञ्चालन गरिनेछ।
अभिनयसम्बन्धि रुची भएका मानिसहरुको लागि फेस्टिभलमा हुने वर्कसप एक अवसर पनि रहेको उनले बताए। ‘यो फेस्टिभल मनोरञ्जनका लागि मात्र छैन्। अभिनयप्रति रुची हुनेको लागि हामीले विभिन्न विधामा वर्कसप पनि गर्नेछौँ। त्यो तपाईंहरुको लागि महत्वपूर्ण अवसर हुनेछ,’ उनले भने।
फेस्टिभलमा फ्रान्सका म्याक्सिम सिसडको ‘अ लिटल बर्ड इन द केज’, बेलायतको इन्डी लिको नाटक ‘इट वन्ट बि लङ नाउ’, जापानी निर्देशक नात्सुको ‘किरितानीको द ट्रान्स बोर्डर’, नेपालबाट नाटककार अशेष मल्लको ‘फेरि अर्को कुरु क्षेत्र’, राज शाहको ‘मनोक्रान्ति’ लगायतका नाटकहरु मञ्चन हुनेछन्।
नेपालसहित जापान, भारत, चीन, थाइल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर गरी १३ देशका २ सयबढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ।
फेस्टिभलको नारा ‘शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण’ रहेको छ। प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरुले गराउनेछन्।
पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहले कार्यशाला सञ्चालन गर्नेछन्।
तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटर असाइनमेन्ट र स्पेश थिएटर, चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला हुनेछ।
अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले कार्यशाला प्रस्तुत गर्नेछन्।
सबै कार्यशालाको समयावधि ३ घण्टाको रहनेछ र कार्यशालामा सहभागी हुनको लागि ५०० टिकटदर तोकिएको छ ।
हङकङका मोक च्यू अगष्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरुको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो।
विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउँदै आएको रंगकर्मीको समूह र नेपाल जस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए। सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनाशीलतामा अझैँ निखार ल्याउने साथै उनले बताए।
महोत्सवले देशको मात्रै प्रतिनिधित्व गर्ने नभई देशभित्र रहेका मानिसहरूको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताए।
यही फेस्टिभल मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० तरिखमा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ।