
काठमाडौँ- सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा अड्को थापेकै कारण राष्ट्रियसभाबाट पारित हुन सकेको छैन।
राष्ट्रियसभामा ४ सिट रहेको जसपा नेपालले पारित नगर्ने बताएसँगै कांग्रेस–एमाले अध्यादेशलाई निर्णयार्थ पेस गर्न पछि हटेका छन्। सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र नेतृत्वको जसपा नेपालको असन्तुष्टि छ।
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश संशोधन नगर्ने अरू ५ अध्यादेशमा पनि साथ नदिने चेतावनी दिएका छन्। कांग्रेस-एमाले भने अध्यादेशलाई लिएर अन्योलमा छन्। अध्यादेश संशोधनका लागि कार्यदल समेत बनेको छ।
अध्यादेश पारित गर्न समयको सीमितता रहेकाले चाँडो पारित गर्नुपर्ने कानुनी बाध्यता छ। तर, सत्तामै रहेको जसपा नेपालले असन्तुष्टि पैदा गर्नुले झनै समस्या देखिएको छ। अध्यादेशको विवाद टुंगोमा नपुगी उपेन्द्र भने कतार लागेका छन्।
नेपाली समाज कतार, मधेस प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद् अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सवमा भाग लिन उनी कतार लागेका हुन्। उनी विदेश लागेसँगै अध्यादेशको समस्या झन् बढ्ने देखिएको छ।
उनी एयर इन्डियाको विमानबाट भारतको नयाँ दिल्ली हुँदै कतार प्रस्थान गरेका हुन्। फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।