
काठगोदाम हुँदै नैनीताल पुग्दा अपराह्नको ४ बज्नै लागिसकेको थियो। काठ गोदामसम्म पुग्नचाहिँ महेन्द्रनगरबाट करिब ४० किलोमिटर पश्चिम लाग्नुपर्दछ। भारतीय रेल सेवाको उत्तराखण्डतर्फ लाग्ने अन्तिम रेल जक्सन काठ गोदाम हो। नैनीतालतर्फ जान रेलबाट यात्रा गर्नेहरूले यसै जक्सनमा ओर्लनुपर्दछ। ब्रिटिस भारतको समयमा यहाँ काठको गोदाम हुने गर्दथ्यो। सम्भवतः भारतीय रेलको लिकमा बिच्छ्याइने आवश्यक काठको आपूर्ति यहीँबाट हुँदो हो। काठगोदाम र हल्दानी सहर हाम्रो बुटवल भनेजस्तै हो, पहाड सकिनेबित्तिकै फेदीमा रहेको वाणिज्य, व्यवसाय र आवासीय प्रयोजनका लागि बसालिएको सहर। नैनीतालमा घर हुनेहरूको हल्दानीमा अर्को घर हुने अत्यधिक सम्भावना रहन्छ।
काठ गोदामबाट उत्तरतरि उकालो लागेपछि तरेली परेका डाँडा देखिन्छन्। यी डाँडा नेपाली पर्वतमालाका विस्तारित हाँगा हुन्। हामी नेपालीलाई पहाडी आकर्षणले तान्छ। एउटा छुट्टै ताजगीको स्पर्श हुन्छ हावामा र स्पन्दनको ऊर्जा हुन्छ शीतल वहने बतासमा। तराईको बाफिलो उष्णतामा बस्नेहरूका लागि छ कल्पनातीत आह्लादित आनन्दको बहार नै आउँछ उकालीहरूमा ठोक्किने बतासको झोक्काहरूमा। हामी केही दिनको समथर बसाइपछि बरेलीको बजारबाट उत्तर लागेका थियौँ पहाडकी रानी भनिएकी नैनीतालको सुन्दरता अवलोकन गर्न।
‘बरेलीको बजारमा झुमका गिरा रे …’ भन्ने हिन्दी सिनेमाको गीत पनि एउटा प्रमुख कारकतत्त्व हो बरेली बजारमा बास बस्नु। कसरी झुम्का गिर्दो रहेछ त भनेर हर्ने लालसा थियो मनको अन्तरकुन्तरमा। वयस्क सुन्दरीको कानको झुम्का बजारको भीडभाडमा ठोक्किएर झर्ने रहेछ। मानिसको हुल, स्वरसरावा, भागाभाग, दौड छ बजारमा। सबै आआफ्नै जिन्दगी बाँच्ने इच्छाको दौडमा छन्। लाग्छ मानिसको केही बहुमूल्य सामान हराएको छ र त्यो प्राप्तिको खोजीमा ऊ एकाग्र छ। यहाँका सुन्दरीहरूलाई कानको झुम्का झरेको पनि होस हुँदैन भन्दछन्। एक दिनमै ‘सोफोकेसन’ हुन्छ बरेलीमा।
कहाँ पहाडको तरेली परेको डाँडालाई आँखामा हरपल सजाएर बसेको मानिस कहाँ वायु प्रदुषणको तुवाँलोभित्र दबिएको सहर? मानिसको भीडमा हराएको सहर। कृत्रिमताको निरसतामा अल्झिएको सहर। हुन त चोकचौराहामा जादुगरको जादु र नृत्यांगनाको नृत्य, कलाकारको कला पनि चलेकै हुन्छ। मदारीले एउटा कुानामा बाँदर नचाउँछ त अर्को कुनामा वैद्यले सबै रोगको जादु हिमाली बुटीको पुडिया बेच्दछ। बाफिलो उष्णतालाई छोडेर सदावहार पहाडी स्वच्छताको निर्मल आकाश मुन्तिर हरियाली भूमिमा रमाउन पाउनु पनि जीवनको एउटा उत्सव हो। त्यसैले त नैनीताललाई पहाडकी रानी भनेका नि। स्वच्छ सास लिन र उन्मुक्त जीवनको आनन्दको अनुभूति गर्न पहाड चढ्नुपर्दछ। पहाडको सिरेटोमा गलेबन्दीको न्यानो हिउँदे बसाइँका लागि गज्जबको हुन्छ।
हुन त नेपालको थम्का थुम्कामा देवीको वास छ र भन्ज्याङ, देउराली अनि चौतारीहरूमा कस्तुरी सावक सुगन्धले मुग्ध हावा बहेली खेल्छ। पहाडकी रानी र राजकुमारी त कति पो गन्नु जता हेर्यो त्यतै नजरमा पहाडकी सुकन्या, सुशील, शृंगार सुशोभित रानी प्यारा छन्। यति हुँदा पनि नैनीताल नै किन सुन्दर छ भने यो एउटा पवित्र तीर्थस्थल पनि हो। यहाँ सतिको देब्रे आँखा पतन भएको विश्वास गरिन्छ। त्यसैले यो ६४ शक्ति पीठमध्ये एउटा हो।
मानिसहरू भन्ने गर्दछन् कि तालको आकार आँखाको जस्तो भएको हुँदा यो तालको नाम नैनीताल रहन गएको हो। वास्तविकता भने भिन्न छ। सतिको देब्रे आँखा पतन भएको ठाउँ भएको कारणले यो ठाउँको नाम नैनीताल रहन गएको हो। नैनीतालको प्राचीन नाम खसदेश पनि थियो। यहाँ प्राचीनकालमा खसहरूले राज्य गरेको हुँदा यस ठाउँको नाम खसदेश रहन गएको थियो।
नैनीताल पहिला जंगलको बीचमा थियो। तालको उत्तर कुनामा नैनादेवीको मन्दिर छ। यही मन्दिरमा मेला लाग्ने गर्दथ्यो। केही सीमित मानिसहरू जीवीकोपार्जन गर्दथे। कुनै एउटा अंग्रेज घुम्दै जाँदा तलाउ र यसको अवस्थितिबाट प्रभावित भएछ। उसले विचार गर्यो, तराईको उष्ण गर्मीबाट बच्न समर प्यालेस बनाएर बस्न पाए स्वास्थ्यका लागि पनि राम्रो र प्रशासनिक दृष्टिबाट पनि नियन्त्रण राख्न उपयुक्त ठाउँ। त्यसैले उसले यहाँ दरवार निर्माण गर्यो। उनी थिए १८१५ देखि १८३५ सम्म कुमाउँको कमिस्नर। तर पहिलो पटक यात्रीका लागि आवास बनाए एक चिनियाँ व्यापारी पिटर ब्यारोन भन्नेले सन् १८४१ मा। सन् १८९० मा पहिलो सरकारी अदालतको स्थापना गरियो जो अद्यापि जिल्ला अदालतका रूपमा देखिन्छ। त्यसपछि अंग्रेजहरू लोभिए नैनीतालको सुन्दरतामा र उनीहरूको सम्पर्क बढ्यो। आवास भवनहरू बढे, गिर्जाघरहरू निर्माण गरिए र बजार बढ्यो। अहिले नैनीतालका डाँडाहरू घरैघरले भरिएका छन्। ब्रिटिसकालीन युरोपियन शैलीमा बनेका केही घरको अवशेष पनि देख्न पाइन्छ।
स्वामी विवेकानन्द आफ्नो गुरुभाइ स्वामी अखण्डानन्दका साथ एकपटक सन् १८९० मा पहाडको पदयात्रा गर्दै नैनीताल पुगेछन्। यस ठाउँबाट प्रभावित भएर ६ दिनसम्म यहीँ बसेछन्। ‘पेट त भर्यो मन भरेन’ भनेजस्तो नैनीताल उनको आँखैमा बसेछ र मनबाट हटेनछ। उनी पुनः शिष्यभगिनी निवेदिता (मार्गरेट नोबल) र श्रीमती ओले बुल तथा सुश्री जोसेफिन मेकलाउडका साथ सन् १८९८ मा गएका रहेछन्। उनको यो भ्रमणको स्मरणपाटी नगर परिषद्ले मन्दिरको प्रांगणमा राखेको छ।
नगर परिषद्ले जनहितमा एउटा सूचना जारी गरेको छ नगर सफाइका सम्बन्धमा, जुन निकै उपयोगी र प्रासंगिक समेत देखियो। त्यसमा लेखिएको छ, ‘एक हजार गान्धी आऊन्। सबै राज्यका मुख्यमन्त्री लागून् र पूरै सरकारी संयन्त्र जुटून् तथापि देशको फोहर सफा हुँदैन। परन्तु यदि सबै जनताले ठानेर उठे भने देशलाई सफा, सुग्घर र स्वच्छ बनाउन समय लाग्दैन।’
हामी काठमाडौँवासीले पनि यो मनन गर्नुपर्ने देखिन्छ। यति मात्र होइन नैनीतालमा मन्दिरमा बलिप्रथा निषेध गरिएको रहेछ। हाम्रा मन्दिरलाई पनि यसतर्फ विचार गर्न सकिन्छ कि? मनन् गरौँ।
नैनीतालमा आन्तरिक पर्यटनको ताँती लाग्छ। विदेशीहरू बिरालाकोटी देखिन्छन्। हामीले त भेटेनौँ। बरु भारतीय आन्तरिक पर्यटकको भीड मज्जैले देखियो। प्रायः होटल भरिने रहेछन्। यहाँको अर्थतन्त्र पर्यटन व्यवसायमा आधारित रहेछ। मूलभूत कुरा भनेको प्रचारप्रसार, स्वच्छता, व्यावसायिक निष्ठा र मैत्रीपूर्ण व्यवहार रहेछ। यी सबै कुरा देखिन्छ नैनीतालमा।
आँखामा ठोक्किएर मनमा बिझ्ने भनेको नेपाली कामदारको उपस्थिति हो। प्रायः कामदारहरू पश्चिम नेपालबाट गएका युवा देखिन्छन्। नेपालको अर्थतन्त्रमा पनि नैनीतालले भरथेग गरेकै रहेछ भन्ने बुझियो।
नैनीतालमा तैरिरहेका विभिन्न आकारप्रकार र रङ भएका डुंगाहरू, त्यसमा सवार युवायुवतीको ताँती देख्दा विहाहिता जोडी, नवदम्पती, प्रमीप्रेमिकाहरू, स्कुल कलेजका नवयौवनाको संख्याले यो तालको सौन्दर्यलाई थप वृद्धि गरेको देखिन्छ। सडकको किनाराभरि पार्क गरेर राखिएका मोटरसाइकलको उपस्थितिले युवामाझ यसको यो तालको लोकप्रियताको मापन गर्न सकिन्छ। तालको दक्षिणी खण्डलाई तल्लीताल र उत्तरखण्डलाई माथ्लीताल भनिँदो रहेछ। दक्षिणभाग तालको प्रवेशद्वार पनि हो। ताल त्यति धेरै ठूलो पनि छैन।
पहाडको भिरालोमा बनेका घर र जंगलको संरक्षण विशेष तरिकाले गरिएका छन्। घरहरू देखिन्छन् तर हरियाली जंगलको बीचमा। तालको पूर्वी र उत्तर किनाराको भिरालोमा प्रायः होटलहरू छन्। केही सीमित आवासीय घर पहाडको माथिल्लो भागमा र तालको दक्षिण भागमा रहेका छन्। सरकारी अड्डा पनि तालको दक्षिण भाग अर्थात् तल्लीतालमा रहेका छन्। रातमा बिजुलीको रंगीन प्रकाशमा छपक्कै भिजेकी देखिन्छन् नैनीताल। दिनमा भन्दा रातमा सुन्दर देखिन्छिन् यिनी। दुई घण्टामा पूरै ताल घुमेर सकिन्छ। तालको चौडाइ ४६३ मिटर, लम्बाइ १.४ मिलोमिटर छ। यसको बीचको गहिराइ ३० मिटर छ भनिन्छ। तालको सफाइमा पूरा ध्यान दिइएको छ।
थाहा भएकै कुरा हो नैनीताल उत्तराखण्डको कुमाउमा पर्दछ। यो ठाउँ शैक्षिक स्थलका रुपमा समेत प्रख्यात छ। यहाँ कुमाउँ विश्वविद्यालय छ। हामी नैनादेवीको दर्शन गरेर विश्वविद्यालय हेर्न गयौँ। हामीले कुमाउँ विश्वविद्यालयको अनुसन्धान विभाग, पुस्तकालय, इतिहास विभाग, विज्ञान संकाय, कला आदि विभाग अवलोकन गर्यौँ। यहाँको पठनपाठनको वातावरण प्राकृतिक रमणीयतासहितको शान्त स्थानमा भएको हुँँदा र आवास तथा शैक्षिक सामग्रीसमेत उपलब्धताका कारणले बाहिरी जिल्ला तथा राज्यहरूबाट समेत विद्यार्थी आएर अध्ययन गर्ने रहेछन्। यहाँको शैक्षिक वातावरण देखेर हामी धेरै प्रभावित भयौँ।
नैतीतालमा एसियाकै उच्चभूभागमा रहेको दोस्रो ठूलो चिडियाखाना छ। साथै पहाडको सौन्दर्यको पान गर्न केबलकारसमेतको व्यवस्था छ। नैनीताल २०८४ मिटरको उचाइमा रहेको र यसको उत्तरमा उच्च पहाड रहेको हुँदा हिउँदमा यहाँ हिउँ पर्दछ। तालबाट हेर्दा नांगो डाँडो देखिन्छ। यसको उचाइ २,६१५ मिटर छ।
एक दिनको हाइकिङमा जाने विचार आएको पनि थियो। नैतीतालबाट एक दिनको हाइकिङमा जानु अत्यन्तै रोमाञ्चक र अविस्मरणीय घटना हुन सक्छ। हिमाली दृश्य अवलोकनका लागि उत्तर पहाडमा जानेहरू प्रशस्तै हुन्छन्। एक दिनको लागि जानेहरू भने सामान्यतया तालको डुंगा सयर गरेर र केही प्राकृतिक आनन्द लिएर फर्कन्छन्।
चिडियाखाना हेर्न जाने समयमा एकजना स्थानीयको घरमा स्वागत खातिरदारीमा परियो। माघे संक्रान्तिको दिन रहेछ। एकजना भद्र स्थानीयसँगको जम्काभेटमा हामी नेपालबाट आएको भन्ने थाहा पाएर नजिकिए। कुमाउनी नाता घुमाएर जोडियो। उनी रहेछन् लोहनी थरका। भन्दै थिए नेपालका लोहनी यतै कुमाउबाट गएका हुन्। उनको दिदी जिल्ला न्यायालयकी रजिस्टार रहिछन्। केही समय कुरा गरेर कार्यालय जान ढिला भयो भन्दै गइन्।
घरमा भएकाहरूले हामीलाई स्थानीय मिठाई सिंकौटी र गजट खान दिएर स्वागत गरे। सिंकौटी (खुवा) पातमा बेरेर दिने रहेछन्। गजट भनेको चाहिँ विशेष प्रकारको विशिष्ट स्वाद भएको बिस्कुट रहेछ। कुमाउँमा बाल मिठाई नाम गरेको मिठाई प्रख्यात रहेछ। त्यो पनि हामीले चाख्यौँ। अर्सा त हामी यहाँ पनि खान्छौँ। आमाले बनाएको अर्साको स्वाद अहिले पनि मुखमा ताजै छ। आमा पछि यो सीप बहिनीहरूमा सरेको छ। सम्भवतः यो मिठाईको परिकार कुमाउँबाट आएको हुनुपर्छ। अर्सा पनि यहाँको मिठाईको सूचीमा पर्दो रहेछ भन्ने देखेर खुसी लाग्यो।
यहाँ कार्यक्रम बनाएर जाने स्वदेशी तथा विदेशी पर्यटक भने हिमाली पदयात्रा, हट एअर बेलुन, इको पदयात्रा, इको केभ भ्रमण गर्ने रहेछन्। छोटो बसाइका लागि नैतीताल स्मरणीय पर्यटकीय स्थल रहेको कुरामा कुनै द्विविधा रहेन। साथै पहाडकी रानी उपमाले सुसज्जित बनाइएको भन्दा पनि आफैँ प्राकृतिक रूपमा सजिएकी हुन्।
यिनै पहाडकी रानीको भ्रमण गरेर त्यहाँबाट रुद्रप्रयागका लागि प्रस्थान गरियो। पहाडी यात्रा उत्तर हिमालतिर जहाँ बस्दछन् बद्रीनाथ र केदारनाथ। जहाँबाट बग्दछिन् अलकनन्दा र मन्दाकिनी।