संसद्‍ बैठक बस्दै : अध्यादेश पास गर्न राजी होलान् उपेन्द्र?

हिमाल प्रेस २४ माघ २०८१ ६:३८
116
SHARES
संसद्‍ बैठक बस्दै : अध्यादेश पास गर्न राजी होलान् उपेन्द्र?

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ।

आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेस गर्ने तयारी गरेको छ। तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ।

अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरु गरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फकाउने प्रयत्नमा कांग्रेस–एमालेका नेता लागेका छन्। उपेन्द्रले हालसम्मकै कुनै निर्णय नलिएको बताएको छ। उपेन्द्रको सचिवालयले हालसम्म कतै आफू नढल्केको जनाएको छ।

जसपा नेपालले सरकारले संसद्मा पेस गरेको अध्यादेशलाई गुण र दोषका आधारमा छलफल गरेर निर्णय लिने बताएको छ। अध्यादेश मार्फत संशोधन गरिएका कानुन राम्रा भएपनि भूमि सम्बन्धि अध्यादेशमा आफ्नो आपत्ति रहेको जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले बताएका छन्। अध्यादेशको विषयमा लगातार छलफल चलाइरहेको उसले विज्ञ समुहसँगको छलफल पछि भूमिहिनलाई जग्गा बाँड्ने विषयमा सरकारको नियत सही नभएको तर्क गरेको छ। उपेन्द्रबिना राष्ट्रियसभामा अध्यादेश स्वीकृत हुँदैन।

राष्ट्रिय सभामा ३ सिट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक बनेको छ। आजको संसदको कार्यतालिका अनुसार सरकारले २ पटक गरेर ल्याएको ६ वटै अध्यादेश दुवै सदनमा निर्णायार्थ पेस हुँदैछ।​

५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेशको विपक्षमा उभिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको १७ जना सांसद छन। त्यसैगरि एकीकृत समाजवादीका ८ जना र जनमोर्चाका १ गरी २६ जना विपक्षमा हुन्छन्।

सत्तापक्षका भने २८ जना सदस्य मात्रै छन् र बहुमतका लागि ३० जना चाहिन्छ। यस्तोमा जसपा नेपालले विपक्षीलाई साथ दियो भने अध्यादेश स्वतः अस्वीकार हुन्छ भने सत्तापक्षलाई साथ दिएमा स्वीकार हुन्छ।

प्रकाशित: २४ माघ २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast