काठमाडौँ- क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो।
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए।
नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए।
क्यान इन्फोटेकमा करिब १५० स्टल रहने र करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गर्ने अनुमान गरिएको क्यानले जनाएको छ। क्यान इन्फोटेकको ३०औँ संस्करणमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ।