
काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ-१० स्थित रिलायन्स इन्टरनेसनल एकेडेमी र तनहुँको देवघाटस्थित महेश संस्कृत गुरुकुलम्बीच शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीको चरित्र निर्माण गर्ने विषयमा सम्झौता भएको छ।
शिक्षण पद्धति, विद्यालय प्रशासन, अतिरिक्त क्रियाकलाप, व्यवस्थापकीय कौशल एवम् सांस्कृतिक तथा अन्य विविध विषयको ज्ञान, सीप र अनुभव आदानप्रदान एवं परस्पर सहयोग लेनदेन गर्न दुई शिक्षण संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा गुरुकुलम्का प्राचार्य ब्रह्मचारी ईश्वरानन्द र एकेडेमीका प्राचार्य खेमलाल भुसालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुई विद्यालयले चौमासिक रूपमा एकअर्का विद्यालयमा भ्रमण तथा भेटघाट गरी विविध शैक्षिक कार्य, शिक्षण विधि र प्रक्रिया तथा अन्य असल अभ्यास साझा गरिनेछ। यसअन्तर्गत नमुना शिक्षण विधि र कलासम्बन्धी अवलोकन तथा सहभागिता, शिक्षण तालिममा सहभागिता, संयुक्त बैठकमा अनुभव र शैक्षिक ज्ञान आदानप्रदान तथा शैक्षिक कार्यमा विद्यार्थी तथा शिक्षकको सहभागिता रेहका छन्।
दुई शिक्षण संस्था आआफ्ना विद्यालयले गरेका असल प्रशासनिक तथा व्यवस्थापकीय कौशल एवं अनुभव गर्न एकआपसमा स्थलगत भ्रमण, संयुक्त बैठक तथा सफलताका अनुभव आदानप्रदान गर्न प्रतिबद्ध भएका छन्।
दुवै शिक्षण संस्थाबीच उच्च मानवीय संस्कृति एवं संस्थागत संस्कृतिका सबै पक्षलाई समेट्दै तत्सम्बन्धमा गर्दै आएका असल अभ्यास र अनुभव आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ। यसैगरी एकअर्काबीच भौतिक तथा आर्थिक सहयोग एवं तत्सम्बन्धी अनुभव आदानप्रदान गरिने भएको छ।
परस्पर विविध अतिरिक्त क्रियाकलापको आयोजना गर्दा एकअर्काको कार्यक्रममा सहभागिता समन्वय एवं सहकार्य गर्ने प्रतिबद्धता सम्झौतामा गरिएको छ। सम्झौतापत्रमा उल्लेख छ, ‘दुवै विद्यालयमा शिक्षक, विद्यार्थीबीचको सहकार्यमा नयाँ खोज र अनुसन्धानसम्बन्धी कार्य स्थानीय, प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरु मिलेर पनि गर्न सकिनेछ।’ सम्झौता अवधि दुई वर्षको रहने र दुई वर्षपछि आपसी अनुभवका आधारमा नवीकरण गरिनेछ।
सो अवसरमा रिलायन्सले गुरुकुलम्लाई २५ हजार रुपैयाँ नगद सहयोग गरेको थियो।
सम्झौता आदानप्रदान कार्यक्रममा महेश संन्यास आश्रमका पीठाधीश १००८ स्वामी श्री रमणानन्द गिरि,नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.गुरुप्रसाद सुवेदी,डा.विश्वनाथ धिताल,निमित्त प्रअ. युवराज दाहाल साथै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष एवम् कलेज प्रिन्सिपल रवीन्द्रजंग थापा,रिलायन्स इन्टरनेसनल एकेडेमीका संस्थापक प्रधानाध्यापक खेमलाल भुसाल, संस्कृति विभागका विभागीय प्रमुख दामोदर निरौला, रिलायन्स इ. एकेडेमीका ईसीए/सीसीए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेलको उपस्थिति थियो।