काठमाडौँ- आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली टिम मलेसिया लागेको छ। पहिलो पटक नेपाली महिला युवा टोलीले विश्वकप खेल्न लागेको हो। जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।
नेपालले जनवरी १८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र २२ मा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाली महिला क्रिकेटको इतिहासमा विश्वकप खेल्ने यो पहिलो टिम हो।
प्रतियोगिताको यस संसकरणमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। नेपालको लागि प्रमुख हतियार कप्तान पूजा महतो हुन्। अलराउन्ड प्रदर्शन गर्ने पूजाकै प्रदर्शन वरपर नेपालको खेल रहने गर्दछ। यसअघि एसिया कपमा पनि पूजाले ऐतिहासिक प्रदर्शन गरेकी थिइन्।
समूह चरणको खेलमा शीर्ष ३ मा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका दुई समूह हुनेछन्। ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन्। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। पहिलो संस्करणको आईसीसी यू १९ महिला टी २० विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो।
पहिलो संस्करणको फाइनलमा इंग्लयान्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो।