कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रथम त्रैमासिकमा ३.४ प्रतिशत, निर्माण क्षेत्रमा संकुचन

हिमाल प्रेस २३ पुष २०८१ २१:०३
6
SHARES
कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रथम त्रैमासिकमा ३.४ प्रतिशत, निर्माण क्षेत्रमा संकुचन

काठमाडौँ- नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर प्रथम त्रैमासिकमा ३.४ प्रतिशत रहेको अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार प्रकाशित गरेको प्रथम त्रैमासिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको वृद्धिदर यस वर्ष ३.४ प्रतिशतले भएको अनुमान गरिएको हो।

यो मौसमी प्रभाव समायोजनबाहेकको तथ्यांक हो। मौसमी प्रभाव समायोजन गरिएकोमा भने ०.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।

यो त्रैमासिक (साउन, भदौ, असोज) मा अर्थतन्त्रको वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले जनाएको छ।

यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो। खास गरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ।

‘गत आ.व.को चौथो त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो। यद्यपि विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २३ पुष २०८१ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast