‘प्रधानमन्त्रीले व्यक्ति नतोक्दा’ बिमा प्राधिकरण अध्यक्ष चयनमा ढिलाइ

हिमाल प्रेस २३ पुष २०८१ १५:१५
8
SHARES
‘प्रधानमन्त्रीले व्यक्ति नतोक्दा’ बिमा प्राधिकरण अध्यक्ष चयनमा ढिलाइ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति नतोक्दा नेपाल बिमा प्राधिकरणको अध्यक्ष चयनमा ढिलाइ भएको छ। प्राधिकरणको अध्यक्ष चयनका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री ओलीसँग संवाद गरे पनि ओलीले व्यक्ति नतोकेका कारण प्रक्रिया अघि बढ्न नसकेको अर्थ मन्त्रालय उच्च स्रोतको दाबी छ।

मन्त्रिपरिषद्को पुस ९ मा बसेको बैठकले प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति गर्न सिफारिस समिति गठन गरेको थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिले प्राधिकरण अध्यक्ष पदका लागि आह्वान गर्न सकेको छैन। समितिले राजनीतिक नियुक्तिमा कुनै एक पात्रलाई दिने निश्चित भएपछि मात्रै प्रक्रिया अघि बढाउने अर्थ मन्त्रालयका एक उच्च कर्मचारीले जानकारी दिए।

‘प्रक्रिया पुर्‍याउन र वैध नियुक्ति देखाउन मात्रै कानुनी रूपमा समिति बनाइएको हो। प्रधानमन्त्री र अर्थमन्त्रीले यो मान्छेलाई अध्यक्ष बनाउने भनेर तोकेपछि मात्र काम अघि बढ्छ’, ती कर्मचारीले भने। व्यक्ति खडा भएपछि मात्र समितिले काम थाल्ने उनको दाबी छ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले भने समितिले प्राधिकरणको अध्यक्ष छनोटका लागि काम सुरु गर्न लागेको बताए। उनले भने, ‘आवेदन यही साता खुल्नेछ।’ उनी प्राधिकरणलाई धेरै समय नेतृत्वविहीन नराख्ने र चाँडै अध्यक्ष छनोट गर्ने बताउँछन्।

नेपाल बिमा प्राधिकरण अध्यक्षविहीन छ। तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। सिलवालविरुद्ध आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यति बेला समितिको कार्यवाहक जिम्मेवारीमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल छन्।

बिमा प्राधिकरण अध्यक्षमा कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेल, राष्ट्रिय बिमा संस्थानका पूर्वप्रशासक कवि पाठक र नेपाल पुनर्बिमा कम्पनीका पूर्वकार्यकारी अधिकृत शंकर रायमाझी आकांक्षी छन्।

अर्थ स्रोतका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीबीच सहमति भए कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी र नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेलमध्ये एकजना प्राधिकरणको अध्यक्ष बन्ने पक्कापक्की जस्तै छ। यसमा कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया नदिएका कारण छनोट प्रक्रिया अघि नबढेको कर्मचारीहरू बताउँछन्।

प्रकाशित: २३ पुष २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast