काठमाडौँ- पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेपछि एमाले नेता तथा सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन्। आइतबार बास्कोटाले सामाजिक सञ्जालमार्फत खनालको नाम नलिई एमालेमा ‘आए सकेजति लाभ लिए र गए’ भनेका छन्।
त्यस्तै, बास्कोटाले ‘खाएको थालमा चुठ्नु राम्रो होइन’ भन्दै खनाललाई व्यंग्य गरेका छन्। झन् गएपछि सराप्ने संस्कार वाहियात भएको बास्कोटाको टिप्पणी छ। उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुनेसमेत बताएका छन्।
बास्कोटाले लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए। हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’
खनालले आइतबार नै फेसबुकमा स्टाटस लेखेर एमाले छाडेको स्पष्ट पारे। उनले लेखेका छन्,‘मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’