काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी रहेको प्रहरीले जनाएको छ।
पाण्डेलाई टोखा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा यसअघि दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ललितकुमार केसीलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामाथि ज्यानमार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अभियुक्त रहेको मुद्दामा सहकारीपीडितको पक्षबाट बहस गरेर बाहिरिने क्रममा माघ २ गते त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरभित्र केही व्यक्तिहरूले हातपात गरेका थिए।
त्रिपाठीमाथि भएको कुटपिटको विरोधमा सर्वोच्च अदालत बारले आइतबार प्रदर्शन गरेको छ। बारको आह्वानमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर बारको कार्यालयअगाडि प्रदर्शन गरेका थिए।





