भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनायो ७६ औँ गणतन्त्र दिवस

हिमाल प्रेस १३ माघ २०८१ २०:४६ | Sunday, January 26, 2025
भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनायो ७६ औँ गणतन्त्र दिवस

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७६ औँ गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा गणतन्त्र दिवस मनाइएको हो।

गणतन्त्र दिवसको अवसरमा दूतवासले भारतीय सेनामा कार्यरत रही दिवंगत सैनिकहरूका आश्रितलाई बाँकी रकम पाँच करोड नेपाली रुपैयाँ प्रदान गरेको छ। यसका साथै २१९ जना दिवंगत सैनिकका आश्रितलाई २३ करोड २९ लाख रुपैयाँ पनि वितरण गरिएको दूतावासले जनाएको छ।

यी रकमहरू सेवाकालीन मृत्यु लाभ, विस्तारित बिमा लाभ र २०२४ मा परिपक्व भएका सेना समूह बिमा (एजीआई) योजनाअन्तर्गत रहेका बताइएको छ।

यस अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत नेपालका पूर्वसैनिकहरूका लागि भारतीय सरकारले ल्याएका कल्याणकारी योजना समावेश गरिएको ‘भूपू–२०२५’ स्मारिका विमोचन गरेका थिए।

दूतवासले ६ वटा प्रदेशका २९ विद्यालयका लागि नेपाली २३ लाख ५० हजार मूल्य बराबरको पाठ्य सामग्री प्रदान गरेको छ। दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ यो पहल गरिएको दूतावासले जनाएको छ।

यस्तै ११ नोभेम्बरदेखि ११ डिसेम्बर २०२४ सम्म आयोजित ‘भारतको जानिए’ प्रश्नोत्तरीमा नेपालका शीर्ष ५० विजेतालाई प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको छ। यो प्रतियोगिताअन्तर्गत विश्वभरका शीर्ष ३० विजेताहरूलाई गत महिना भारत आमन्त्रित गरिएको थियो। नेपालका तर्फ निखिलकुमार दास यसमा सहभागिता जनाएका थिए।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र काठमाडौँस्थित केन्द्रिीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

यस अवसरमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय मूलका नागरिकलाई शुभकामना व्यक्त गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

प्रकाशित: १३ माघ २०८१ २०:४६ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast