‘लाज शरणम्’ मा मोहम्मद अफताब आलम बने धुर्मुस

हिमाल प्रेस ११ माघ २०८१ ११:४१ | Friday, January 24, 2025
‘लाज शरणम्’ मा मोहम्मद अफताब आलम बने धुर्मुस

काठमाडौँ- फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर पूर्वमन्त्री मोहम्मद अफताब आलमसँग मिलेको चर्चा भइरहेको छ।

एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको जरीकोट लगाएका छन्। उनले अर्को हातमा माेबाइल र घाँटीमा चस्मा झुण्ड्याएका छन्। उनको गेटअप आलमसँग दुरुस्तै मिलेको देखिन्छ।

आलम रौतहटको राजपुर बम काण्डका आरोपमा निलम्बित भएका थिए। उनी अहिले १४ जनाको हत्या गरेको अभियोगमा जेलमा छन्।

त्यस्तै पोस्टरमा कलाकार विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठ र महेश त्रिपाठी पनि फरक चरित्रमा देखिएका छन्। पृष्ठभूमिमा त्रिभुवन विमानस्थल र पहाडी भेगका मानिसहरुको दृश्य देख्न सकिन्छ।

आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएको फिल्म कमेडी जनरामा आधारित छ। फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्। कुमारकाे याे डेब्यु निर्देशन हाे।  फिल्म चर्चित टेलिफिल्म ‘सक्किगोनि’ समूहले बनाएको हो।

फिल्ममा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्। सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन्। फिल्मको एउटा गीत काठमाडौंका मेयर बालेन्द्र शाहले गाएका छन्। फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।

प्रकाशित: ११ माघ २०८१ ११:४१ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast