रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस २ पुष २०८१ १५:०९
12
SHARES
रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे

राजविराज- सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ। सोमवार राति बुद्ध एयरले काठमाडौँ—राजविराज परीक्षण उडान गरेको हो। दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू समेत राजविराज पुगेका थिए। रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान सुरु गर्ने १०औँ विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए। पोखरामा अन्तरराष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भए पनि विस्तारै अन्तरराष्ट्रिय उडान गर्ने बताए। कुनै पनि विमानस्थलमा सेवा विस्तार भएसँगै सेवाग्राहीहरू आउने र अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव पर्ने बताए। उनले आन्तरिक विमानस्थलहरूमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए।

‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो। यो दशौँ एयरपोर्ट बनेको छ। अब राजविराज छायाँमा पर्ने छैन। यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ‚ चलायमान बनाउनेछ‚’ उनले भने, ‘यसले अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव रहनेछन्। आन्तरिक एयरपोर्टहरूमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए।  उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए। रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले राजविराजमा रात्रिकालीन उडान सुरु हुनु सप्तरीवासीका लागि गौरवको क्षण भएको बताए। रात्रिकालीन उडान सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने उनले बताए। ‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो। यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरू, अग्रजहरू, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भने, ‘हाम्रो सपना आज साकार हुँदै छ।’

प्रकाशित: २ पुष २०८१ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast