महाधिवेशन रोकेर पदाधिकारी थप्दै प्रचण्ड

किरण पौडेल १७ मंसिर २०८१ २१:४०
66
SHARES
महाधिवेशन रोकेर पदाधिकारी थप्दै प्रचण्ड

काठमाडौँ- २०७८ सालमा नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन हुँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘अबको ६ महिनामा अर्कोे महाधिवेशन गर्नुपर्छ। अहिलेलाई यस्तै भयो।’

गत असार ८ गते राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दा प्रचण्डले अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने बताएका थिए। प्रचण्डले अहिलेसम्म न केन्द्रीय समिति बैठक तोकेका छन् न त महाधिवेशनको मिति तय भएको छ। त्यसैले महाधिवेशन मिति कहिले तोकिन्छ, माओवादी नेतालाई थाहा छैन।

प्रचण्ड पार्टीका बैठकमा महाधिवेशन गरिहाल्ने भन्नचाहिँ नछाड्ने उनी निकट नेताहरू बताउँछन्। २०७८ सालमा प्रचण्डले केन्द्रीय समिति चयन गरेर आफैँ मात्र अध्यक्ष घोषित भएका थिए। अन्य पदाधिकारी चयन गर्न एक वर्ष लाग्यो।

‘हाम्रो (माओवादी)को महाधिवेशनको मिति कहिले हुन्छ? स्वयं अध्यक्ष प्रचण्डलाई पनि थाहा छैन होला,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘यो हाम्रा लागि नयाँ कुरा पनि होइन।’

प्रचण्ड महाधिवेशनभन्दा पदाधिकारीमा संख्या थप्ने तयारी गर्दैछन्। यद्यपि पदाधिकारी ठूलो बनेको आलोचना हुने गरेको छ। तर पनि उनी अब केही नेतालाई पदाधिकारीमा लैजाने तयारीमा रहेको ती पदाधिकारीले बताए।

माओवादीमा एक केन्द्रीय अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव र नौ सचिव र एक कोषाध्यक्षसहित पदाधिकारी संख्या २२ छ। अब दुई थपेर २४ पुर्‍याउने तयारीमा प्रचण्ड छन्। थपिने पदाधिकारीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र अमिक शेरचन रहेको ती पदाधिकारीले बताए।

नेताहरूका अनुसार पुन यसअघि पदाधिकारी बैठकमा सामेल भएर सक्रिय राजनीतिमा लाग्ने चाहना व्यक्त गरेका थिए। बैठकमै पुनले आफू सक्रिय राजनीतिमा फर्किने प्रस्ताव राखेका थिए। ‘उहाँ बैठकमा बस्नुभएको थियो। उहाँले राजनीतिमा लाग्ने चाहना पनि व्यक्त गर्नुभएको हो। उहाँलाई पदाधिकारी चयनबारे चाहिँ थाहा भएन’, माओवादी सचिव गणेश साह भन्छन्।

माओवादीका अर्का एक पदाधिकारीका अनुसार प्रचण्ड पनि पुनलाई सक्रिय राजनीतिमा फर्काउन सकारात्मक छन्। पुनकै लागि उपाध्यक्ष पद थप्ने प्रचण्डको प्रयत्न छ। पुन राजनीतिमा फर्किए प्रचण्डलाई सहज हुने अनुमान छ। ‘महरा (कृष्णबहादुर महरा) निष्कृय जस्तो बन्नु भा छ। उहाँको स्थानमा उहाँकै नेता राख्न पाए हुन्थ्यो भन्ने प्रचण्डको छ’, ती पदाधिकारी भन्छन्।

पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई भने कुन पद दिइने निश्चित भएको छैन। यद्यपि उनलाई पदाधिकारी बनाउने निश्चित भइसकेको छ। शेरचन यसअघि गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख थिए। फेरि सक्रियताका साथ राजनीतिमा फर्किने उनको आकांक्षा छ। यसअघिका पदाधिकारी पनि ‘लाभको पद’ लिएर पद पाएकाले अमिक पनि फर्किने तयारीमा जुटेको माओवादीका एक पदाधिकारी बताउँछन्।

माओवादीमा फर्किंदै ‘लाभको पद’ लिएका नेता

लामो समय ‘लाभको पद’ लिएका नेताहरू फेरि माओवादीको सक्रिय राजनीतिमा फर्कने तयारीमा छन्। पुन उपराष्ट्रपति भएका नेता हुन्। आठ वर्ष उपराष्ट्रपति बनेका उनी फेरि राजनीतिमा होमिने योजनामा छन्।

यसअघि उनी माओवादीको स्थायी समिति सदस्य थिए। शेरचन दुई पटक प्रदेश प्रमुख बने। एकै व्यक्ति एउटै प्रदेश प्रमुख दोहोरिएर बन्न नपाउने प्रावधानले शेरचन फेरिएर प्रदेश प्रमुख बनेका थिए। शेरचन पहिले गण्डकी र पछि लुम्बिनीका प्रदेश प्रमुख बने। सभामुख बनिसकेका अग्नि सापकोटा पनि अहिले माओवादी उपाध्यक्ष र प्रवक्ता छन्।
महरा पहिले सभामुख बनेर पछि उपाध्यक्ष बनेका हुन्। पहिलो पटक महिला सभामुख बनेकी अन्सरी घर्ती पार्टी राजनीतिमा फर्किएकी छन्।

माओवादीमा अहिले भएका पदाधिकारी पनि विधानविपरीत हुन्। तल्लो कमिटीको एक तिहाईमात्रै माथिल्लो तहका चयन हुन पाउँछन्। अहिले स्थायी समिति ४३ सदस्यीय छ।

यसको एकतिहाईमा पदाधिकारी बन्ने प्रावधान माओवादीको विधानमा छ। यसो गर्दा १५ जनाभन्दा बढी पदाधिकारी बन्न पाउँदैनन्। विधान कुल्चिएर माओवादीमा पदाधिकारी बढाइँदैछ। यसअघि माओवादी बैठकमा नियमविपरीत पदाधिकारी बढाइएको विषय उठेको थियो। बैठकमा उपमहासचिव हरिबोल गजुरेलले सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका थिए। तर अन्य नेताले चासो दिएपछि गजुरेल पनि पछि हटेका हुन्।

‘अहिले पनि म पुरानै अडानमा छु,’ गजुरेल भन्छन्, ‘यस विषयमा औपचारिक कुरा नआएकाले मैले उठाएकौ छैन। आउँदो बैठकमा प्रस्ताव आएपछि छलफल हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast