काठमाडौँ- काठमाडौँस्थित नक्सालमा सात देशका कलाकारले सिर्जना गरेका कलाको प्रदर्शनी सुरु भएको छ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा यहाँ ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ।
कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्तरूपमा उद्घाटन गरे। पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदानप्रदान हुने विचार व्यक्त गरे। उनले यस्ता प्रदर्शनी र कार्यशाला विभिन्न देशमा आयोजना हुन जरुरी रहेको र यसले पर्यटन विकासका साथै आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने बताए।
उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले सातवटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदानप्रदानमा सहयोग गरेको बताए।
श्रीलंकाका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै सात देशका कलाको अभ्यास शैली, संस्कृतिका बारेमा बुझ्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिए।
बंगलादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताइन्। सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा कार्यक्रम आयोजना हुनु नै खुसीको कुरा भएको बताए।
प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलंका, मौरिसस, बंगलादेश, स्पेन, अर्जेन्टिनाका ७५ जना कलाकारका एक सय ५० भन्दा बढी कलाकृति समावेश गरिएको छ। आज (बुधबार) देखि सुरु भएको प्रदर्शनी मंसिर ७ गतेसम्म चल्ने प्रतिष्ठानले जानकारी दिएको छ।