काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहहरूलाई उपनिर्वाचन प्रयोजनका लागि सवारी साधन तथा परिवहनका साधान दुरूस्त अवस्थामा राख्न निर्देशन दिएको छ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा सोमबार ८ बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो निर्देशन दिएको हो।
‘नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधनहरू, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू मर्मत सम्भार गरी ठीक दुरूस्त अवस्थामा राख्न र स्थानीय तह उपनिर्वाचनको कामका लागि आवशयकताअनुसार प्रयोग गर्न सक्ने व्यवस्था गर्ने’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ।
त्यस्तै उपनिर्वाचन हुने स्थानीय तहहरूमा निर्वाचन आयोगबाट कायम भएका मतदानस्थल/केन्द्रहरूको संरचनाको संरक्षण, मर्मतसम्भार एवं उक्त स्थानहरूमा खानेपानी, शौचालय, विद्युत, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउन्ड वाल, तारवारआदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला, तथा अपाङ्गतामैत्री बनाउन आयोगले स्थानीय तहलाई निर्देशन दिएको छ।
उपनिर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालनको व्यवस्था मिलाउन आयोगको निर्देशन छ। साथै तोकिएको मतदानस्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरूसमेत प्राथमिकताका साथ आवश्यक परे मर्मतसम्भार गरी दुरूस्त अवस्थामा राख्न आयोगले भनेको छ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरूपयोग हुनबाट रोक लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
त्यस्तै स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनका साथै जुनुसुकै भौतिक साधन प्रयोग गर्नबाट पूर्णतः रोक लगाउन आयोगले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
आचारसंहिता लागू भइसकेको भन्दै उपनिर्वाचन सम्पन्न नहुँदासम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायतका कार्यक्रमहरू नगर्न आयोगले निर्देशन जारी गरेको छ।