काठमाडौँ- एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे यूईएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५-० ले पराजित गरेको हो। जितसँगै स्लोभेनियासँग १–१ गोलको बराबरी खेलेको नर्वे दोस्रो स्थानको अस्ट्रियाभन्दा अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको हो।
नर्वेले ६ खेलबाट १३ अंक पुर्याएको छ। कजाकिस्तान १ अंकसहित रेलिगेसन जोनमा छ। म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले पहिलो हाफको २३ र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार अग्रता दिलाएका थिए।
४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३-० को अग्रता बनायो। ७१औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन्।
स्विडेनका भिक्टर ग्योकेरेस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्लोभेनिया बेन्जामिन सेस्कोले समान पाँच गोल गरेका छन्। ६७औं मिनेटमा एन्टोनियो नुसाले अर्को गोल थप्दै नर्वेलाई फराकिलो जित दिलाए।