काठमाडौँ- स्पेनिस लालिगाअन्तर्गत पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ४-० ले पराजित गरेको छ।
यो जितसँगै ला लिगामा ४२ खेलमा अपराजित रहेको बार्सिलोना कीर्तिमानतर्फ उन्मुख भएको छ। सन् २०१७-१८ मा बार्सिलोना ४३ खेलसम्म अपराजित भएको थियो। कार्लो एन्सेलोट्टीको टोलीले गत वर्ष सेप्टेम्बर २३ पछि पहिलो हार बेहोरेको छ। रियलका किलियन एम्बाप्पेले गोल गरे पनि अफसाइट भएको थियो।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। यस्तै, लामिन यमल र राफिन्हाको नाममा समान एक गोल रह्यो। जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलबाट ३० अंक पुर्याएको छ। दोस्रो स्थानको रियल बर्सिलोनाभन्दा ६ अंकले पछि छ।
खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले मार्क कासाडोको पासमा गोल गर्दै सान्टियागो बर्नाबेउ स्टेडियममा रियलका समर्थकलाई स्तब्ध पारेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए।
७७औं मिनेटमा राफिन्हाको क्रसमा यमलले अग्रता ३-० मा पुर्याए। उक्त गोलसँगै क्लासिकोमा सबैभन्दा कम उमेरको गोलकर्ता बने।
उनले १७ वर्ष १०५ दिनको उमेरमा क्लासिकोमा गोल गरेका हुन्। उनले अन्सु फातीलाई उछिनेका हुन्। फातीले अक्टोबर २०२० मा १७ वर्ष २५० दिनमा गोल गरेका थिए।
खेलको ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए। च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको तीन दिनपछि बार्सिलोनाले यो जित निकालेको हो। उसले पछिल्ला पाँच प्रतिद्वन्द्वीलाई २१-२ ले पराजित गरेको छ।