काठमाडौँ- भदौ महिनामा मात्र ९ हजार ४ सय ४९ जना बिमितले बिमा सरेण्डर गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणअनुसार १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बढीको बिमा सरेण्डर भदौमा भएको छ।
गत आर्थिक वर्षमा ७० हजारभन्दा बढी बिमितले बिमा सरेण्डर गरेका थिए। गत आर्थिक वर्षमा २० अर्बभन्दा बढी बिमा सरेण्डर भएको थियो। भदौ महिनामा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का बिमितले सरेण्डर गरेको प्राधिकरणले जनाएको छ।
यस कम्पनीबाट ३ हजार ३ सय ८ जना बिमितले ३५ करोड ८१ लाख रुपैयाँ बढीको बिमा सरेण्डर गरेका छन्। प्राधिकरणका अनुसार नेपाल लाइफका २ हजार ६८ जना बिमितले ३३ करोड ११ लाख बढीको बिमा सरेण्डर गरेका छन्।
राष्ट्रिय जीवन बिमा कम्पनीका १ हजार १० जना बिमितले १० करोड ५८ लाख, एशियन लाइफका ८८१ जना बिमितले ७ करोड ९६ लाख, नेशनल लाइफका ५९३ जना बिमितले ८ करोड ३४ लाख, सूर्यज्योति लाइफका ६१६ जना बिमितले ७ करोड ३८ लाख र हिमालयन लाइफका ५८९ जना बिमितले ५ करोड ७२ लाख रुपैयाँ बढीको बिमा सरेण्डर गरेको प्राधिकरणको तथ्यांकमा छ।
सन नेपालका ५९ जना बिमितले मात्र बिमा सरेण्डर गरेका छन्। बीमा सरेण्डरबापत सन नेपालबाट ५७ लाख रुपैयाँ सरेण्डर भएको प्राधिकरणले जनाएको छ।