काठमाडौँ- अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुँडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेलाई सात दिनभित्र आफैं उपस्थित भएर वा वारेसमार्फत लिखित जवाफ पठाउन भनेको हो।
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपीसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू’, आदेशमा भनिएको छ।
वरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले आफ्नो सार्वजनिक अभिव्यक्तिमा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतका सहप्रवक्ता घिमिरेले आफूले प्रतिवेदन फिर्ता लिने घोषणा गरेपछि यो मुद्दा अघि नबढ्ने अनुमान गरिएको थियो। तर, सर्वोच्चले बाटोको म्यादबाहेक सात दिनको समय राखेर आफ्नो अभिव्यक्तिबारे प्रष्ट पार्न आदेश गरेको हो।




