काठमाडौँ- पछिल्लो समय उच्चशिक्षामा संस्कृततर्फ विद्यार्थीको आकर्षण बढेको छ। नि:शुल्क पढ्न पाइने र पढ्दापढ्दै आय आर्जनमा पनि हुने भएकाले विद्यार्थीले संस्कृत अध्ययनमा रुचि देखाएका हुन्। यद्यपि संस्कृतको स्नातक (शास्त्री) अध्ययनका लागि कक्षा १२ मा संस्कृत विषय अनिवार्य रूपमा पढेको हुनुपर्छ। अन्य संकायमा १२ पास भएका विद्यार्थीले भने नेपाल संस्कृत विश्वविद्यालयबाट सञ्चालन हुने ६ महिने प्राक्शास्त्री पढेपछि मात्रै शास्त्री पढ्न पाउँछन्।
उच्चशिक्षामा संस्कृतका विभिन्न विधाका विषयको पठनपाठन नेपाल संस्कृत विश्वविद्यालयमा मात्रै हुन्छ। नेसंविका आंगिक क्याम्पसमध्यै प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा १७ वटा विषयको पठनपाठन हुने गरेको प्राचार्य प्रा.डा.भागवत ढकालले जानकारी दिए। उनले भने, ‘चारै वेद, न्याय, व्याकरण, साहित्य, इतिहास, पुराण, ज्योतिष, कर्मकाण्ड, प्राकृतिक चिकित्सालगायत १७ वटा विषय पढाइ हुँदै आएको छ।’ यसैगरी विद्यापीठका ऐच्छिक विषयका रूपमा नेपाली, अंग्रेजी, गणित, अर्थशास्त्रलगायतका विषय पढाइ हुन्छ। यसैरी स्नातकोत्तर (आचार्य) तहमा भने संस्कृतका १७ विषय अध्ययन हुन्छन्।
दाङको बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका देशभरमा आंगिक र सम्बन्धन प्राप्त गरी १३ वटा विद्यापीठ छन्।
वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.ढकालले इतिहास पुराण र फलित ज्योतिषमा विद्यार्थीको बढी आकर्षण रहेको बताए। उनले भने, ‘पछिल्लो समय स्नातक तहमा इतिहास पुराण र फलित ज्योतिषमा विद्यार्थीको आकर्षण बढी छ। फलित ज्योतिषको सेक्सन नै बनाएर पढाइरहेका छौँ। ज्योतिषप्रति रुचि विश्वप्यापी रूपमै छ।’ विद्यापीठमा स्नातक तहमा बर्सेनि तीन सय ५० विद्यार्थी भर्ना हुने गरेका छन्।
फलित ज्योतिष पढ्नेले चिनाटिप्पन बनाउने र भविष्यफल बताउने काम पाउँछन्। यसैगरी पुराण भन्नका लागि इतिहास पुराण विषय पढ्नुपर्छ। पुराण वाचन र कथा भन्न जान्ने मानिसको जीवनस्तर बदलिने र उसलाई समाजले हेर्ने दृष्टिकोणमा फरक रहेको प्रा.डा.ढकालले बताए। उनले भने, ‘कथावाचक (व्यास) भनेपछि समाजमा बेग्लै इज्जत, मानप्रतिष्ठा छ। पारिश्रमिक पनि राम्रै पाउँछन्। त्यसैले इतिहास पुराण पनि विद्यार्थीको रुचिको विषय बनेको छ।’
प्रा.डा.ढकालका अनुसार विद्यापीठमा कर्मकाण्ड, योग तथा प्राकृतिक चिकित्साकै पढाइचाहिँ प्रशिक्षणका रूपमा हुँदै आएको छ। यी विषय पढेपछि विद्यार्थीले प्रमाणपत्र त पाउँछन् तर उपाधि भने पाउँदैनन्। ढकालले भने, ‘कर्मकाण्ड प्रशिक्षण ६-६ महिनाको हुन्छ। यसरी प्रशिक्षण लिएका जनशक्तिले स्वदेशमा मात्रै नभएर विदेशमा पनि काम पाउँदै आएका छन्।
उनी भन्छन्, ‘कर्मकाण्ड प्रशिक्षण दिएर सनातनीहरूका विभिन्न संस्कारलाई शास्त्रोक्त विधिपूर्वक सम्पन्न गर्न सक्ने व्यक्ति यहीँ तयार हुन्छन्। कर्मकाण्ड प्रशिक्षणका लागि कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ। विदेश जानेहरूले पनि विद्यापीठबाट कर्मकाण्डको प्रशिक्षण लिने गरेका छन्।’
विद्यापीठबाट शास्त्रबमोजिम जनशक्ति उत्पादन भइरहेको भन्दै ढकालले वैदिक मन्त्र शुद्ध उच्चारण नभए चाहेको अभीष्ट पूरा हुन नसक्ने बताए। ‘हामीले मन्त्रहरू शुद्ध उच्चारण गर्न सक्ने र शास्त्रले बताएअनुसारको कार्य गराउनसक्ने क्षमताका जनशक्ति विकास गरेका छौँ,’ प्राचार्य ढकालले भने। उनको भनाइमा वाल्मीकि विद्यापीठमा पढेका विद्यार्थी अपवादबाहेक सबै उत्कृष्ट र समाजले पत्याउने किसिमका छन्।
प्राचार्य ढकालले विश्व संस्कृत अध्ययनतर्फ फर्किएको बताउँदै पश्चिमा विद्वान्ले अरस्तु, प्लेटोका दर्शनका कुरा गरे पनि त्यसले मानिसको सर्वोच्चतालाई स्वीकार नगरेको बताए। उनीहरूले विचारलाई मात्र महत्त्व दिएको ढकालको भनाइ छ। उनी भन्छन्, ‘पौरस्त्य दर्शनले जीवलाई परमात्मासँग जोड्छ। परमात्मा भनेको ईश्वर हो र व्यक्तिलाई ईश्वर तुल्याउने दर्शन हामीसँग छ। यहाँ तिनै विषयको पढाइ भइरहेको छ।’ वेद राम्रोसँग पाठ गर्न सक्ने जनशक्तिको माग अन्तर्राष्ट्रियस्तरमै रहेको ढकाल बताउँछन्।
संस्कृत पढेका जनशक्ति कर्मकाण्ड र ज्योतिषमा मात्रै सीमित छैनन् शिक्षण र निजामती सेवामा पनि अब्बल रूपमा स्थापित भइरहेका छन्। ढकालका अनुसार नाम चलेका निजी स्कुलले नेपाली विषय पढाउन संस्कृतकै जनशक्तिलाई रोज्न गरेका छन्। शिक्षक सेवा आयोगले लिने परीक्षामा संस्कृत पृष्ठभूमिका विद्यार्थी नाम निकाल्न सफल भएका छन्।
संस्कृत पढेर सरकारी सेवामा प्रवेश गरेका जनशक्ति नैतिकवान् र चरित्रवान् देखिएको ढकालको बुझाइ छ। उनले भने, ‘संस्कृत पढेका विद्यार्थी चरित्रवान् हुने हुँदा भ्रष्टचारजन्य गतिविधि हुँदैन।’ लोकसेवाले लिने परीक्षामा विषयगतभन्दा वस्तुगत प्रश्न धेरै सोध्न थालेपछि संस्कृतका विद्यार्थी निजामतीतर्फ कम आकर्षित भइरहेको ढकालले बताए।
सोही कारण निजामती सेवाका कर्मचारीप्रति सेवाग्राहीको बुझाइ नकारात्मक छ। उनले भने, ‘विगतमा लोकसेवाको परीक्षामा विषयगत प्रश्न सोधिन्थ्यो। धेरै लेख्नुपर्थ्यो। लेख्ने सीप, क्षमता र कला संस्कृत पढेकाहरूसँग हुन्थ्यो। उहाँहरूले सजिलै नाम निकाल्नुहुन्थ्यो। अहिले धेरै प्रश्न टिक (रेजा) लगाउने खालको आउँछ। यो पद्धतिमा जसले पनि नाम निकाल्न सक्ने भयो। एउटा अनुच्छेद राम्रो लेख्नेको भन्दा रेजा लगाएका आधारमा मूल्यांकन भइरहेको छ।’
प्राचार्य डा.ढकालले विश्वविद्यालयबाट परीक्षा, नतिजा र भर्नाको व्यवस्था क्यालेन्डरअनुसार नहुँदा समस्या भइरहेको बताए। उनले भने, ‘विश्वविद्यालयले परीक्षा, नतिजाको समय तालिकामा गरिदिनुपर्छ। भर्ना निश्चित समयमा खोल्नुपर्यो।’
साथै उनले विद्यार्थीले जुन विषय पढ्न चाहेका छन् सोही विषयका लागि नियम बनाउनुपर्ने बताए। उनका अनुसार संस्कृत विषय पढ्न कक्षा १२ देखि पीएचडी तह पार गरेका विद्यार्थी आउने हुँदा उनीहरूलाई पुनः सय पूर्णांकको अंग्रेजी, नेपाली पढ्नुपर्ने बाध्यता छ।
ढकालले भने, ‘धेरै मानिस संस्कृत पढ्न आउनुहुन्छ। उहाँहरूको योग्यता कक्षा १२ पासदेखि पीएचडीसम्म हुन्छ। उक्त शैक्षिक योग्यता भएका उहाँहरूले फेरि १०० पूर्णांकको अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली, नेपाल परिचय या नेपाल अध्ययन पढ्नुपर्ने बाध्यता छ। यस किसिमको पाठ्यक्रमलाई परिमार्जन गरेर जे विषय पढ्न चाहने हो त्यो पढ्ने वातावरण बनाइदिनुपर्छ।’
विद्यापीठले नियमित अध्ययनअध्यापनका साथै अतिरिक्त समयमा विभिन्न विषयमा प्रशिक्षण पनि दिँदै आएको छ। यसै महिना पनि वेदान्त विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइएको ढकालले जानकारी दिए।
वाल्मीकि विद्यापीठ संस्कृत संरक्षण, संवर्धनका लागि विशिष्टीकृत क्याम्पस भएको हुनाले संस्कृत विषयमा अध्ययन गर्न शुल्क नलाग्ने प्रा.डा.ढकालले बताए। वाल्मीकि विद्यापीठमा शास्त्री तहको भर्ना शुल्क दुई हजार चार सय रुपैयाँमात्र रहेको जानकारी ढकालले दिए। यसैगरी नियमित पढ्ने विद्यार्थीले मासिक रूपमा छात्रवृत्ति पाउँछन् भने तीनधारा संस्कृत छात्रावासमा खानेबस्ने सुविधा छ।
भिडियो