काठमाडौँ- नेकपा (एमाले) संसदीय दलका तत्कालीन उपनेता एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति दिवस हो आज। नेम्वाङको निधन २०८० भदौ २६ गते हृदयाघातका कारण बालुवाटारस्थित निवासमा भएको थियो। नेम्वाङको निधनले एमाले पार्टी मात्रै होइन समग्र देश शोकमा डुब्यो। शालीन स्वभावका सुवास राजनीतिमा सहकार्यका पक्षपाती थिए। त्यसैले पनि राजनीतिका उनको अभाव महसुस भइरहने समकालीन नेताहरू बताउँछन्।
नेम्वाङका २ छोरा र एक छोरी छन्। कान्छा छोरा सुहाङ अहिले सुवासको उत्तराधिकारीका रूपमा अघि बढेका छन्। सुवासको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्य पदमा सुहाङ निर्वाचित भए। दुःखको कुरा, सुवासको निधन हुँदा सुहाङले नेपालमा थिएनन्। बाबुको निधन हुनुभन्दा २२ दिनअघि उनी अस्ट्रेलिया पुगेका थिए।
सुहाङकै शब्दमा बुवासँगको अन्तिम भेट र कुराकानी
म स्पोर्टिङ क्लब मेची सञ्चालन गरिरहेको थिएँ। महिला फुटबल लिगलाई प्रोत्साहन गर्नुपर्छ भनेर क्लब खोलिएको थियो। बुवासँग सल्लाह गरेर म अस्ट्रेलिया गएँ। एक साताभन्दा बढी विदेशमा नबस्ने मेरो बाचा थियो। त्यसअघि पनि म सात दिनभित्रै नेपाल फर्किने गरेको थिएँ। गत वर्ष भने एजेन्ट र अरूसँग कुराकानी गर्ने चरणमा २२ दिन बितिसकेको थियो।
बुवा त्यसबेला टीआरसी (संक्रमणकालीन न्याय) को कामले निरन्तर दौडिरहनुभएको थियो। म अस्ट्रेलिया जाने बेलामा पनि टीआरसीकै मिटिङमा हुनुहुन्थ्यो। म विदेश जाने थाहा पाएपछि मिटिङ छाडेर उहाँ घर आउनुभयो। उहाँ र मेरो भेट घरको गेटमा भएको थियो। म भक्कानिएर रोएर बिदा भएको थिएँ। त्यो नै अन्तिम भेट हुन पुग्यो।
अस्ट्रेलिया पुगेपछि बुवासँग मेरो कुराकानी भइरहन्थ्यो। घटना हुनुभन्दा एक दिनअगाडि हामीबीच बिहानैदेखि भिडियोमा कुराकानी भइराथ्यो। उहाँ खाटमा बस्नुभाथ्यो। म एउटा चिडियाखानामा थिएँ। मैले यति राम्रो जनावर देख्नुभाथ्यो भनेर जिस्किएँ। बुवा र छोराबीच ठट्टा चलिरहन्थ्यो। त्यस रात पनि कुरा भयो। बुवाले जुत्ता मगाउनुभएको थियो। अन्तिम कुराकानी त्यही हो।
बुवा मेरो बिहेको कुरा गरिहनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘तिमीले यहाँ कोही मन पराएनौ। उतैबाट ल्याएर भएर पनि गरे हुन्थ्यो।’
बुवा बिरामी हुनुभएछ। मलाई खबर आएको थिएन। दिउँसोदेखि उहाँलाई इन्जेक्सन दिएर राखिएछ। यो कुरा घर आएर मात्रै थाहा पाएँ। उहाँ बिरामी भएको दिन मैले कल गरिनँ। राति मसँग मिल्ने भाइ मेरो छेउमा सुत्नुभएको थियो। उहाँले उठेर दाइ भन्नुभयो। भाइ अलि डराउने खालका थिए। मेरी बहिनीले उसलाई कल गरेकी रहिछन्। मेरोमा पनि बहिनीले कल गरिछन् तर मैले थाहा पाइनछु।
म ११ बजेपछि कल नउठाई आराम गर्ने गर्थेँ। कल रिसिभ गर्नेबित्तिकै म खंग्रंग भए। त्यसपछि बिहान ६ बजेको टिकट काटेँ। बेलुका ९ बजे त्रिभुवन विमानस्थलमा उत्रिएँ। मलाई सीधै च्यासल लगियो। म अस्ट्रेलियाबाट एक्लै आएको थिएँ।
‘बुवाकै बाटोमा देश अघि बढ्यो’
सुहाङले मंगलबारको प्रतिनिधिसभा बैठकमा सुवास नेम्वाङको स्मरण गरे। उनले बुबा सुवासकै बाटोमा देश अघि बढेको बताए। ‘मेरो बुवा सधैँ भन्नुहुन्थ्यो– सहमति र सहकार्य। उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो।’
यही मान्यताका साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वजस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गरेका सुहाङले बताए। उनले भने, ‘आज म फेरि एक पटक यो सम्मानित सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु। मेरो बुबा सधैँ भन्ने गर्नुहुन्थ्यो, जस्तोसुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ।’
आफ्ना पिताको नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद, आस्था, सबै धर्म, संस्कृति, पहिचान, सहअस्तित्व र विकासलाई ठाउँ दिएको सुहाङले बताए। ‘सबै संकटलाई सहमति र सहकार्यको बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो। मलाई लाग्छ, फेरि एकपटक उहाँकै मान्यतामा देश उभिएको छ,’ सुहाङले भने।
सुवास नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचौँपटक निर्वाचित प्रतिनधिसभा सदस्य थिए। विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय सुवास कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए। २०२९ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भए।
नेम्बाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बने। ०५१ सालमा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका सुवास त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्रीसमेत भएका थिए।
२०५६, ०७४ र २०७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट निर्वाचित भएका हुन्। सुवास नेम्वाङ २०६३ वैशाख, २०६३ माघ, २०६५ साउन, २०७० फागुनमा गरी चार पटक सभामुख भएका थिए। दुवै संविधानसभामा उनी अध्यक्ष थिए।