चेपाङले मनाए छोनाम पर्व

हिमाल प्रेस २३ भदौ २०८१ ७:३२
8
SHARES
चेपाङले मनाए छोनाम पर्व

चितवन- चेपाङ समुदायले शनिबार छोनाम ‍(न्वागी) पर्व मनाएका छन्। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाएका हुन्।

नेपाल चेपाङ संघ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो। सो अवसरमा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न हर्षोल्लासका साथ सामूहिक रूपमा यो पर्व मनाउने गरिएको बताए।

साथै उनले चेपाङ समुदायको बसोबास रहेको गण्डकी प्रदेशमा न्वागी पर्वका दिन सार्वजनिक बिदा दिनसमेत माग गरे।

कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर, चितवन, तनहुँ र लमजुङका चेपाङ समुदायको सहभागिता थियो। कार्यक्रममा विभिन्न अन्नबाली तथा फलफूल राखेर चेपाङ समुदायको झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो ठोकेर फलाकेका थिए भने चेपाङ समुदायको संस्कृति झल्किने विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।

अध्यक्ष चेपाङका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको छ। चेपाङ संघको आयोजनामा गोरखामा सामूहिक कार्यक्रम भए पनि उक्त समुदायको बसोबास गर्ने जिल्लाका पालिकामा पनि यो पर्व मनाइएको छ।

नेपाल चेपाङ संघका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङका अनुसार चेपाङ समुदायले २०६३ सालदेखि चेपाङ संघको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आएका छन्।

उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । आफ्नो कूलअनुसार भदौ महिनाको पूर्णिमादेखि भदौभरि नै न्वागी मनाउने परम्परा रहे पनि २२ गतेलाई संस्थागत रूपमा मनाउन मान्यता पाएको महासचिव चेपाङको भनाइ छ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। न्वागी पर्वका दिन घैयाधानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ।

यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए। न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ चेपाङ छन्। सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार ६ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका नागरिक बसोबास गर्छन्।

प्रकाशित: २३ भदौ २०८१ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =