राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

हिमाल प्रेस १४ मंसिर २०८० १५:३८
8
SHARES
राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

मनहरी– मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘चेपाङलाई बिजुली कार्यक्रम’ अभियान सुरु गरेको छ। अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी काम भइरहेको छ।

राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ। खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए। रु ३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको र विद्युत्को कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको उनले बताए। “मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ”, अध्यक्ष मल्लले बताए।

सहजरूपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ। यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए। विद्युत् उपलब्ध भएपश्चात घरैबाट गलैँचाको काम गर्न सकिने उनले बताए।

आगामी वैशाख महिनासम्म यस क्षेत्रमा विद्युत्बाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ। राक्सिराङ भौगोलिकरूपमा विकट रहेको गाउँपालिका हो।

प्रकाशित: १४ मंसिर २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =