चेपाङ समुदायको आस्थाको केन्द्र दिनठान मन्दिर संरक्षण गरिँदै

हिमाल प्रेस ८ साउन २०८० ६:५७
6
SHARES
चेपाङ समुदायको आस्थाको केन्द्र दिनठान मन्दिर संरक्षण गरिँदै

चितवन– ऐतिहासिक दिनठान मन्दिरको संरक्षण गरिने भएको छ। चेपाङ समुदायको आस्थाको केन्द्रका रूपमा मन्दिर रहेको छ।

कालिका नगरपालिका-१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो।

गत आर्थिक वर्ष ०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजंग प्रजाले बताए।

उनले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए। बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिक कालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो। यहाँ विशेष गरेर पुस मसान्त र माघे संक्रान्तिका दिन दुई दिन मेला लाग्छ।

जंगलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइउको छ। यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेर चेपाङले बताए।

मन्दिरमा उनले नियमित पूजा गर्दै आएका छन्।

‘यो एतिहासिक मन्दिर हो,’ उनले भने, ‘यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ।’ यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ।

चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन्। यो मन्दिरलाई पनि उनै देवताको रूपमा पूजाआजा गर्दै आएको शेरले बताए।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए।

मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =