स्याउ बेचेरै हंशिलाले जोडिन् घरजग्गा

हिमाल प्रेस २६ भदौ २०८१ १०:०० | Wednesday, September 11, 2024
स्याउ बेचेरै हंशिलाले जोडिन् घरजग्गा

कैलाली- कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त छिन्। माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन्। उनले व्यापारबाटै कैलालीमा घर र जग्गा जोडेकी छन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ।

‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु। छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनी भन्छिन्, ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्‍यो।’

यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताए। मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेका छन्।जुम्लामा उत्पादित स्याउ प्रतिकेजी ७० मा खरिद गरेर तराई पुर्‍याएपछि प्रतिकेजी एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उनी बताउँछिन्।

‘एक ट्रक स्याउ ल्याउन एक लाखभन्दा बढी खर्च हुन्छ’, हंशिला भन्छिन्, ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन्। ढुवानी खर्च अधिक छ’ उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरिन्।

उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन्। हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन्। कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरिएको छ।

चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्नेगरेको बताउँछन्। ‘चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ’, उनी भन्छन्, ‘मसँग आफ्नै गाडी छ। आफैँ गाडी चलाउँछु। जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु।’

उनले सडक सञ्जाल नभएका कारण बगैँचामा नै स्याउ कुहिने गुनासो गरे। कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन। त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेका छन्। ‘मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ। बजार पुर्‍याउन यातायातको सुविधा छैन। भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन’, उनी भन्छन्, ‘कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यलाई अझै बुझेको छैन।’

प्रकाशित: २६ भदौ २०८१ १०:०० | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast