‘द अनसाइलेन्स्ड’ को नेपाल प्रिमियर असोज २० मा

हिमाल प्रेस २ असोज २०८१ १३:०१ | Wednesday, September 18, 2024
‘द अनसाइलेन्स्ड’ को नेपाल प्रिमियर असोज २० मा

काठमाडौँ- प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’ को नेपालमा प्रिमियर हुने भएको छ। आगामी ६ अक्टोबर अर्थात असोज २० गते काठमाडौँको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शनी हुँदैछ।

वेन फिल्म्स प्रालिको विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ। जहाँ उनीहरूको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको छ।

एक घण्टा नौ मिनेट लामो डकुमेन्ट्री वास्तविक कथाहरूबाट प्रेरित छ। जसमा राधा, माया, सुन्दरी, र सुकुनको जीवनका अद्भुत यात्रालाई प्रस्तुत गरिएको छ। काठमाडौंमा प्रदर्शनको लागि टिकट विक्रीमा खुला गरिएको छ। डकुमेन्ट्री हेर्न दर्शकले ७५० पैसाको टिकट काट्नुपर्नेछ।

बालविवाहपछि घरेलु दासत्वमा बाध्य भएकी राधाले बाँच्नका लागि आफ्‌नो अभिनेत्री बन्ने सपना त्याग्छिन्। त्यस्तै, मायाले कुवेतमा मानव बेचविखनको भयावहताबाट उम्किएर नेपाल फर्कन्छिन्। यहाँ एक उद्यमीका रूपमा नयाँ जीवनको सुरुवात गर्छिन्।

शारीरिक रूपमा होचो भएकी सुन्दरीले समाजका मान्यताहरूलाई चुनौती दिँदै पुरुष प्रधान भूमिकामा पुजारी बन्छिन्। र, पितृसत्तात्मक भेदभावलाई दृढताका साथ जित्छिन्।सुकुन जसले आफ्‌नो तल्लो जातको कारण सामाजिक अवरोधहरूलाई सहेर नेपालको सुन्दर हिमालहरूको बीचमा हस्तकलाका उत्पादनहरू बनाएर आफ्‌नो परिवारलाई सहयोग गर्छिन्।

डकुमेन्ट्री यी चार महिला पात्रको वरिपरि घुमेको छ। नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर सिड्नी अस्ट्रेलियाको प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ तारिखमा हुनेछ। त्यसैगरि, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको लाएमल्ले थिएटर्समा २०२५ जनवरी १० मा प्रदर्शनी हुनेछ।

यस डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीसहित अवार्डहरु जितिसकेको छ। यो डकुमेन्ट्री इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म अवार्ड्समा गोल्ड विजेता, इटालीको रियाले फिल्म फेस्टिवलमा अवार्डको विजेता हो।

त्यसैगरि, लिभरपुल बेलायतको इन्डी अवार्ड्समा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवार्ड्समा फाइनलिस्ट भएको यो डकुमेन्ट्री डेनमार्कको इन्टरनेशनल विमेन्स फिल्म फेस्टिवल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिवल, , टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिवल र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवार्ड्समा अफिसियल छनोट भएको थियो।

वेन फिल्म्सले अहिले नेपाल, लिथुआनिया, संयुक्त राज्य अमेरिका र बेलायतमा आफ्‌नो कार्यालयहरू सहित विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको छ।

प्रकाशित: २ असोज २०८१ १३:०१ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast