यस्ता छन् युट्युबमा सार्वजनिक २०८१ का गाईजात्रा

सुस्मिता बजगाईं ४ भदौ २०८१ ११:२३
110
SHARES
यस्ता छन् युट्युबमा सार्वजनिक २०८१ का गाईजात्रा

काठमाडौँ- आज भदौ ४ अर्थात् गाईजात्रा पर्व। आफ्नो दिवंगत सन्तानको यादमा दुःखी भएकी रानीलाई सान्त्वना दिन मल्लकालीन  राजा प्रताप मल्लले सुरु गरेको गाईजात्रा नेपालको मौलिक र सांस्कृतिक पर्व हो। काठमाडौँ उपत्यकाका नेवार समुदायमा यो जात्रा विशेषा रूपमा मनाइँदै आएको छ। यसका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका सहरमा पनि गाईजात्रा मनाउने गरिन्छ।

वर्षभरमा परिवारका सदस्य निधन भएको घरबाट गाईजात्रा निकाल्ने चलन छ। गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

कलाकारले भने गाईजात्रालाई हास्यव्यंग्य पर्वका रूपमा मनाउँदै आएका छन्।  उनीहरूले देशको वर्तमान स्थिति, विकृति र विसंगतिप्रति व्यंग्यात्मक प्रस्तुति र कार्यक्रम गर्ने गरेका छन्। मनोज गजुरेल, शैलेन्द्र सिम्खडालगायतका ब्रान्ड वर्थ टिमले ‘एकासीको गाईजात्रा’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।  भदौ २ नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको कार्यक्रम ७ गतेसम्म चल्नेछ।

पछिल्ला दिनमा युट्युब च्यानलमा गाईजात्रे भिडियो सार्वजनिक गर्ने क्रम बढ्दो छ। यसमा केही चर्चित कलाकार  अगाडि छन्।  यसरी भिडियो सार्वजनिक गर्नेमा जोगिन्दर अर्थात् शिवशंकर रिजाल, कमल गाउँले, केदार घिमिरे (माग्ने बुढा), दमन रूपाखेती, शैलेन्द्र सिम्खडालगायत छन्।

जोगिन्दरको ‘ठगठाग कम्पनी’

गाईजात्रा प्रस्तुतिबाटै चर्चित पानवाला जोगिन्दर अर्थात् शिवशंकर रिजालले ‘ठग-ठाग कम्पनी’ नामक भिडियो सार्वजनिक गरेका छन्। उनको भिडियो ओएसआर डिजिटलबाट साउन १९ (३ अगस्ट) मा सार्वजनिक भएको हो।

रिजालले देशको विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिकदेखि फेसन र ग्ल्यामरसम्मका विकृति र विसंगतिमाथि प्यारोडी गीत शैलीमा व्यंग्य प्रहार गरेका छन्। भिडियोमा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सिना, शिला उप्रेती, सोनम शेर्पा, विजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

कमल गाउँलेको ‘भीषण ८४’

कमल गाउँलेले ‘भीषण ८४’ नामक गाईजात्रे प्रस्तुति युट्युबमा सार्वजनिक गरेका छन्। उनले पनि राजनीतिक दलहरूले गरेको काम, देशमा बढ्दो भ्रष्टाचार, महँगी, वैदेशिक रोजगार, मिसन ८४ लगायतका विषयप्रति व्यंग्य गरेका छन्। गाईजात्रा कमलकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गोपाल तिमल्सिनाको ‘के होला के होला’

कलाकार गोपाल तिमल्सिनाले ‘के होला के होला’ बोलको गाईजात्रे भिडियो सार्वजनिक गरेका छन्। उनले साउन २८ (१२ अगस्ट) मा आफ्नै युट्युब च्यानलबाट प्याराेडी गतिसहितको  भिडियो  सार्वजनिक गरेका हुन्।

तिमल्सिनाकै शब्द र स्वर रहेको गीतमा विशाल तामाङको संगीत संयोजन छ। गीतमार्फत उनले देशमा वर्षभरि भएका विभिन्न काण्डहरु, विभिन्न घटना, आन्दोलन, समेट्दै देशमा भइरहेको भ्रष्टाचार, अन्याय, अत्याचार, बलात्कार, विकृतिविसंगतिप्रति व्यंग्य गरेका छन्। साथै देशको शैक्षिक, आर्थिक अवस्थालाई पनि चित्रित गरेका छन्।

तिमल्सिनाले निर्देशन गरेको भिडियोमा सुमन ढकाल, अर्जुन आचार्य, रुद्र ढकालले अभिनय गरेका छन्।

माग्ने बुढाको ‘झुटा कुरा फ्याटै पत्याउने’

कलाकार केदार घिमिरे (माग्ने बुढा) को स्वरमा ‘झुटा कुरा फ्याट्टै पत्याउने’ बोलको गाईजात्रे गीत सार्वजनिक भएको छ। नवीना सिलवाल ‘खुइली’को स्वरमा र्‍याप  मिक्सिङ गरिएको कमेडी गीतमा सोझा जनता, कामप्रतिको इमानदारी, महिलाको मेकअप, सापटी दिएको पैसा फिर्ता नगर्ने, सडक जाम गरेर चिल्ला गाडीमा हिँड्ने, चुनावमा गाउँमा झुल्किने र एक छाक खान दिएर भोट किन्ने राजनीतिज्ञप्रति व्यंग्य प्रहार गरिएको छ।

घिमिरेकै शब्द रहेको गीतमा बाबुल गिरीको संगीत निर्देशन र संयोजन छ। गीत आमा अग्निकुमार मिडियाबाट सार्वजनिक गरिएको हो।

प्रेमराज लामिछानेको ‘मिसन-८४’

प्रेमराज लामिछानेको लेखन र प्रस्तुतिमा ‘मिसन ८४’ बोलको गाईजात्रा भिडियो सार्वजनिक भएको छ। उनले साउन २६ मा अफिसियल युट्युब च्यानलबाट गाईजात्रे भिडियो सार्वजनिक गरेका हुन्।

अलिफ खान, सुरज भुसाल र अस्मिता पाण्डेको स्वर रहेको गीतमा अर्जुन परियार, प्रेमराज लामिछाने, विजया परियारले र्‍याप गाएका छन्। गीतमा पवन रानाभाटको मिक्सिङ र संगीत संयोजन छ। यसमा पनि राजनीतिक दल, र देशको समसामयिक विषय, तीज गीतको विकृति, कोटीहोम विवादलगायत विविध विषय समेटेर व्यंग्य गरिएको छ। भिडियो निर्देशन तथा सम्पादन प्रेमराजले गरेका हुन्।

दमन रुपाखेतीको ‘मिसन ८४ पत्तासाप’

दमन रुपाखेतीले ‘मिसन ८४ पत्तासाप’ बोलको गाईजात्रे भिडियो सार्वजनिक गरेका छन्। दमनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा नाटकीय शैलीमा यमलोकबाट देशको वर्तमान स्थितिप्रति व्यंग्य गरिएको छ।

शैलेन्द्र सिम्खडाको ‘गाईजात्रा २०८१’

शैलेन्द्र सिम्खडाले समसामयिक विषयप्रति व्यंग्य गर्दै ‘गाईजात्रा २०८१’ सार्वजनिक गरेका छन्। उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गाईजात्रामा विशेषतः राजनीतिक दल, भ्रष्टाचारप्रति व्यंग्य गरिएको छ।

भालेको गाईजात्रा

टिकटकबाट भालेका नामले चर्चित नवराज काप्रीले ‘भालेको गाईजात्रा’ सार्वजनिक गरेका छन्। गीतमा नवराजको स्वर, शब्द र संगीत छ। गायनमा उनलाई नवीना सिलवाल ‘खुइली’ ले साथ दिएकी छन्। गीतको भिडियोमा धीरज कोइराला, रञ्जित विश्वकर्मा, देवेन्द्र काप्री, रोस्मित अधिकारी, सुशीला थापा, विष्णु सुनुवार, दुर्गा बस्नेत, पवन कार्की र भुवन सुनारले अभिनय गरेका छन्।

युवराज भण्डारीको ‘घुँडैसिती’

युवराज भण्डारीले ‘घुँडैसिती’ बोलको गाईजात्रा भिडियो युट्युबमा सार्वजनिक गरेका छन्। गीतमा देशको वर्तमान परिवेशप्रति व्यंग्यात्मक प्रस्तुति छ। नवराज भण्डारी, युवराज भण्डारी, राजेन्द्र नेपाली र सञ्जया भण्डारीको लेखन र रमा राना मगरको स्वर रहेको गाईजात्रा पोखरेली माग्ने बुढा धुर्मुस च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित: ४ भदौ २०८१ ११:२३

प्रतिक्रिया

One thought on “यस्ता छन् युट्युबमा सार्वजनिक २०८१ का गाईजात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =