थप रक्तपात मच्चाउन चाहन्थिन् सेख हसिना

हिमाल प्रेस २२ साउन २०८१ १६:५२
190
SHARES
थप रक्तपात मच्चाउन चाहन्थिन् सेख हसिना शेख हसिना : फाइल तस्बिर

सेख हसिना बल प्रयोग गरेर थप रक्तपातमार्फत बंगलादेशको सत्तामा बसिरहन चाहन्थिन्। देश छाड्नुअघि उनले स्थानीय समयअनुसार सोमबार बिहान १०ः३० बजेदेखि करिब एक घण्टासम्मको छलफलमा सेनाका उच्च अधिकारीलाई स्थिति नियन्त्रणमा लिन दबाब दिएकी थिइन्।

सैनिक अधिकारीहरूले आन्दोलन थप सशक्त बन्दै गएको र अवस्था नियन्त्रणबाहिर गइसकेको बताएका थिए। उनले सेनाले प्रस्तुत गरेको वस्तुस्थितिलाई स्वीकार गर्न चाहेकी थिइनन्।

यसबीचमा उनले परिवारका सदस्यसँग छलफल गरिन्। अनि मात्रै हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेकी हुन्। हसिनाको राजीनामाको पछिल्लो चार घण्टाको विवरण विभिन्न सम्बन्धित स्रोतबाट प्राप्त भएको छ।

सरकारविरोधी आन्दोलन चर्किएपछि सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन कठिन भएको थियो। त्यसपछि हसिनाको पार्टी अवामी लिगका कार्यकर्तासमेत हतियार बोकेर आन्दोलनको प्रतिकारमा उत्रिएका थिए। देशभर व्यापक द्वन्द्व र जनधनको क्षति गराएपछि पनि हसिनाले विद्यार्थी र जनताको आन्दोलनलाई सम्हाल्न सकिनन्। स्थिति बुझेपछि उनका एक सल्लाहकारसहित केही नेताले आइतबार राति हसिनालाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए।

उनीहरुले सेनालाई सत्ता हस्तान्तरण गर्न सुझाव दिएको बताइएको छ। हसिनाले त्यसलाई स्वीकार गर्न चाहिनन्। उल्टै सोमबारदेखि कर्फ्युमा कडाइ गर्न प्रस्ताव गरेकी थिइन्। करिब दुई महिनाअघि जारी आन्दोलनका क्रममा केही सातादेखि सरकार थप कडा बन्दै गएको थियो। सोहीअनुसार सरकारले ढाकामा सोमबार बिहानैदेखि कर्फ्युलाई कडाइ गर्ने पहल गरेो थियो। आन्दोलनकारीले बिहान ९ बजेदेखि विभिन्न स्थानमा कर्फ्यु तोडेका थिए। आन्दोलनकारीहरू १० बजेपछि ढाकाका विभिन्न ठाउँमा भेला हुन थालेका थिए।

सेनाका उच्चस्तरीय स्रोतका अनुसार बिहान साढे १० बजे तीनै सेना (स्थल, जल र वायु) का प्रमुख र प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्री निवास गणभवनमा बोलाइएको थियो। छलफलका क्रममा हसिनाले स्थिति सम्हाल्न नसकेको भन्दै सुरक्षा अधिकारीहरूसँग असन्तुष्टि  व्यक्त गरेकी थिइन्।

आन्दोलनकारीले बख्तरबन्द गाडीमा रातो रङ पोत्दा र सेनाका गाडीमा चढ्दा किन प्रतिकार नगरेको भनेर हसिना आक्रोशित भएकी थिइन्। यस क्रममा हसिनाले आईजीपीतर्फ औँल्याउँदै प्रहरीले राम्रो गरिरहेको तर सेनाले किन स्थिति नियन्त्रणमा लिन नसकेको भने प्रश्न गरेकी थिइन्। आईजीपीले स्थिति गम्भीर तहमा पुगेको भन्दै प्रहरीले पनि अब नियन्त्रणमा लिन नसक्ने बताएका थिए। अन्य सुरक्षा अधिकारीहरूले पनि आईजीपीको भनाइलाई समर्थन गरेका थिए।

हसिना भने आन्दोलन दबाउन अडिग थिइन्। त्यसपछि अधिकारीहरूले हसिनाकी बहिनी सेख रेहानासँग भिन्नै छलफल गरेका थिए। उनीहरू हसिनालाई अवस्था बुझाउन आग्रह गरेका थिए। अनि रेहानाले हसिनासँग छलफल गरिन्। यति बेलासम्म हसिना सत्ता नछाड्ने पक्षमा थिइन्। आजित हुन थालेका अधिकारीहरूले अमेरिकामा रहेका हसिनाका छोरा सजीव वाजेद जोयसँग बंगलादेशको पछिल्लो अवस्था र हसिनाको जिद्दीबारे कुराकानी गरेका थिए। त्यसपछि जोयले आमासँग कुराकानी गरेका थिए। अनि मात्रै हसिना राजीनामा दिन राजी भएकी थिइन्।

सत्ता छाड्न राजी भएपछि हसिना राष्ट्रका नाममा भाषण रेकर्ड गर्न चाहन्थिन्। त्यसै बेला साहबाग र उत्तराबाट ठूलो संख्यामा विद्यार्थीहरू गणभवन (प्रधानमन्त्री निवास) तर्फ अघि बढिरहेको सूचना गुप्तचर स्रोतबाट प्राप्त भएको थियो। सुरक्षा अधिकारीहरूले ४५ मिनेटमा आन्दोलनकारी साहबागबाट गणभवनसम्म आउने आकलन गरे।

यस्तो अवस्थामा सुरक्षा अधिकारीहरू भाषण रेकर्ड गर्न अनुमति दिइयो भने हसिनाले प्रधानमन्त्री निवास छोड्नै नपाउने निष्कर्षमा पुगे। अनि उनीहरूले हसिनालाई ४५ मिनेटभित्र प्रधानमन्त्री निवास नछाडेमा आन्दोलनकारीलाई भित्र प्रवेश गर्नबाट रोक्न नसकिने बताएका थिए। अनि हसिनाले भाषण रेकर्ड नगराई देश छाडेकी हुन्।

गणभवनबाट हसिना बहिनी रेहानासँग तेजगाउँको पुरानो विमानस्थलको हेलिप्याडमा पुगेकी थिइन्। उनीहरुको केही सामान पनि त्यहीँ ल्याइएको थियो। त्यसपछि उनीहरु बंगभवन गए। त्यहाँ राजीनामा समारोह पूरा गरेपछि हसिना बहिनीसँगै सैन्य हेलिकप्टरमा भारत पुगेकी थिइन्।

इन्डिया टुडेको रिपोर्टअनुसार हसिना स्थानीय समयअनुसार ५ः३६ मा नयाँदिल्ली नजिकै गाजियाबाद (उत्तर प्रदेश) मा रहेको भारतीय सेनाको हिन्दन एयर बेसमा अवतरण गरेकी थिइन्। उनलाई भारतीय सेनाका एक अधिकारीले स्वागत गरेका थिए। त्यहाँबाट उनी लन्डन जान सक्ने बताइएको छ। बंगलादेशी दैनिक प्रोथमअलोबाट भावानुवाद

प्रकाशित: २२ साउन २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast