बंगलादेशमा डेढ दशक लामाे ‘हसिना युग’ को अन्त्य

हिमाल प्रेस २१ साउन २०८१ २१:२९
58
SHARES
बंगलादेशमा डेढ दशक लामाे ‘हसिना युग’ को अन्त्य

काठमाडौँ- हिंसात्मक प्रदर्शनका बीच सेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नी बहिनी सेस रेहानाका साथ देश छोडेर भागेकी छन्। हसिना सन् २००९ देखि लगातार बंगलादेशकी प्रधानमन्त्री थिइन्। हसिना पहिलो पटक सन् १९९६ मा प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

पछिल्लो १५ वर्षमा हसिनाले बंगलादेशलाई गरिबीबाट बाहिर निकाल्न महत्त्वपूर्ण भूमिका खेलेको धेरैको बुझाइ छ। बंगलादेशमा हसिनाकै कारण प्रगति भएको ठान्नेहरूको संख्या उल्लेख्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अवामी लिगकी नेतृ हसिनाको लगातार बढ्दै गएको तानाशाही शासन शैलीका कारण बंगलादेश प्रगतिपथमा अगाडि बढेको हो। हसिना अहिलेको भन्दा कमजोर स्थितिमा कहिल्यै पनि थिइनन्।

जुलाईमा विद्यार्थीले सुरु गरेको प्रदर्शन  हिंसात्मक घटनामा परिणत हुन पुग्यो। हसिना नेतृत्वको सरकारले प्रदर्शन रोक्न अधिकतम प्रयास नगरेको होइन। प्रदर्शनकारी विद्यार्थी पछाडि हटेनन्। प्रदर्शनका क्रममा कम्तीमा तीन सय बंगलादेशीको ज्यान गएको छ। विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि हसिनामाथि दबाब बढ्दै थियो। सोही दबाबका कारण हसिना राजीनामा गरेर देश छोड्न बाध्य भइन्।

देश छोड्नुअघि हसिनाले राष्ट्रका नाममा आफ्नो सम्बोधन रेकर्ड गर्न चाहेकी थिइन्। हजारौँको संख्यामा प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवास ‘गणभवन’ तर्फ अगाडि बढिरहेको थियो। हसिना आफ्नो सम्बोधन रेकर्ड नगरी सरकारी निवास छाड्न बाध्य भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

शान्त तर दह्रिलो सेख हसिना बंगलादेशका संस्थापक राष्ट्रपति सेख मुजिबुर रहमानकी छोरी हुन्। रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कुका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए। उनीहरू सन् १९८१ मा स्वदेश फर्किएका थिए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बनेको थियो।

कैयौँपटक आफूमाथि भएको आक्रमण र संकटको सामना गरिसकेको अनुभव छ, उनीसँग। आफ्नो कार्यकालमा हसिना नेतृत्वको सरकार मुलुकको सीमा सुरक्षा बलको हिंसात्मक विद्रोहबाट जोगिएको थियो। त्यो विद्रोहमा ५७ जना सैन्य अधिकारी मारिएका थिए।

हसिनाले तीनवटा विवादित आमचुनाव जितेकी थिइन्। अन्तर्राष्ट्रिय समुदायले पनि ती चुनावको आलोचना गरेको थियो। हसिनाले मानवअधिकार उल्लंघनका कैयौँ आरोप सहेकी थिइन् भने कैयौँपटक विपक्षी दलहरूले गरेको प्रदर्शनको सामना गरिसकेकी छन्। विद्यार्थीको पछिल्लो प्रदर्शन देशभर छरियो।  विपक्षी दल विद्यार्थी आन्दोलनरत विद्यार्थीहरूसँगै एकजुट भएपछि उनको शक्ति कमजोर बन्दै गएको थियो।

बंगलादेशको सर्वोच्च अदालतले विवादित आरक्षणको व्यवस्था अन्त्य गरेर आन्दोलनरत विद्यार्थीहरूको माग पूरा गरे पनि असन्तुष्टि सकिएन। प्रदर्शनका क्रममा १० हजारभन्दा बढी पक्राउ परेका छन्।

बंगलादेशमा विद्यार्थीले सरकारी सेवामा मुक्ति संग्राममा सहभागी परिवारका लागि ३० प्रतिशत आरक्षण अन्त्य गर्न माग गर्दै विरोध सुरु गरेका थिए। यो आरक्षण सन् १९७१ को स्वतन्त्रता संग्राममा सहभागीको परिवारका लागि लागू गरिएको थियो। उच्च अदालतले यो विवादित आरक्षणलाई यथावत् राख्न फैसला सुनाएपछि प्रदर्शन थप उग्र बनेको थियो।

सत्ताधारी दलका कार्यकर्ताले प्रदर्शनकारीमाथि आक्रमण गर्न थालेपछि प्रदर्शन हिंसात्मक बनेको थियो। सर्वोच्च अदालतले आरक्षण व्यवस्थालाई लगभग अन्त्य गर्ने फैसला सुनायो। बंगलादेशबाट भागेकी हसिना चढेको सेनाको जहाज नयाँदिल्लीनजिक गाजियावादस्थित हिन्डन एयरवेसमा अवतरण गरेको छ। त्यहाँबाट सेख हसिना लन्डनतर्फ जाने आकलन गरिएको छ।

एसियाकै शक्तिशाली महिला राजनीतिज्ञ सेख हसिना देश छोडेर भागेपछि त्यहाँको सत्ता सेनाले कब्जामा लिएको छ। अन्तरिम सरकार नबनेसम्म सेनाले सरकारको नेतृत्व गर्नेछ। बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले सोमबार दिउँसो राष्ट्रलाई सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार बनाउने तयारी भइरहेको बताएका छन्।

विपक्षी दलहरूसँग छलफल भएको र चाँडै अन्तरिम सरकार गठन हुने उनको भनाइ छ। जमानले प्रधानमन्त्री हसिनालाई राजनीमा गर्न सेनाले सुझाव दिएको बताए। सेना प्रमुख जमानले आन्दोलन रोकेर देशमा शान्ति बनाउन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन्।

प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्। टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ। केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ।

बीबीसीको सहयोगमा

बंगलादेशमा संकट : सेनाको कब्जामा सत्ता

प्रकाशित: २१ साउन २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =